अमेरिकी व्यापार घाटा वृद्धि



एजेन्सी । आयातमा भएको वृद्धिका कारण जुलाईमा अमेरिकी व्यापार घाटा बढेको छ । ‘जुलाईमा अमेरिकाको व्यापार घाटा बढेर ६५ अर्ब डलर पुगेको छ, यो जुनमा संशोधित ६३.७ अर्ब डलरको आँकडाभन्दा बढी हो,’ अमेरिकी वाणिज्य विभागले भनेको छ ।

तर, विश्लेषकको अनुमानअनुसार यो दोस्रो त्रैमासिकको औसतभन्दा कम रहेको छ । तथ्यांकअनुसार आयात १.७ प्रतिशतले बढेर ३१६.७ अर्ब डलर पुगेको छ भने निर्यात १.६ प्रतिशतले बढेर २५१.७ अर्ब डलर पुगेको छ ।

विशेषगरी सेमिकन्डक्टरसँगै मोबाइल फोन र औषधिजन्य तयारी उपभोग्य वस्तुजस्ता सामानको आयात बढेको प्रतिवेदनले देखाएको छ । अमेरिकी अर्थतन्त्रमा सुस्तताको संकेत देखिए पनि लचिलो उपभोक्ता खर्चले अमेरिकी व्यापारलाई बढावा दिन मद्दत गरेको छ ।

तर, मुद्रास्फीति घटाउने र मागलाई सुस्त बनाउने उद्देश्यले केन्द्रीय बैंकले तीव्र ब्याजदर वृद्धि गर्दा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमा तरंग आउन सक्ने देखिएको छ । जुलाईमा सामानको निर्यातमा सवारी साधन, पार्टपुर्जा र इन्जिनको निर्यात बढेको छ भने औद्योगिक आपूर्तिमा पनि वृद्धि भएको छ ।

अमेरिकाको चीनसँगको व्यापार घाटा जुलाईमा १.२ अर्ब डलर बढेर २४ अर्ब डलर पुगेको छ ।


रवि धिताल