सात व्यापारीलाई ७० हजार जरिवाना



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ७ व्यापारीबाट ७९ हजार रुपैयाँबराबरको जरिवाना गरेको छ । विभागका अनुसार अनुगमनको क्रममा असहयोग गरेको भन्दै न्यूनतम् ५ हजारदेखि अधिकतम २० हजार रुपैयाँसम्म आर्थिक जरिवाना गरिएको हो ।

विभागका प्रवक्ता होमनाथ भट्टराईका अनुसार खरिद बिलविजक नराखेको र अनुगमनमा असहयोग गरेको अभियोगमा सबैभन्दा बढी ललितपुरस्थित कुमारीपाटीको एक मिनी मार्टबाट २० हजार रुपैयाँ जरिवाना गरेको हो ।

यसैगरी पुरानो सिनामंगलस्थित एक खाद्य पसलबाट १० हजार, रानीवारीस्थित एक रेडिमेड पसलबाट ५ हजार, याट्खास्थित एक पसलबाट ५ हजार, रानीबारीकै अर्को रेडिमेड पसलबाट १० हजार, मध्यपुर ठिमीस्थित फर्निचर पसलबाट १५ हजार र सोही स्थानको खाद्य पसलबाट ५ हजार रुपैयाँ जरिवाना गरिएको हो ।

बिलविजक अनिवार्य रुपमा निर्देशन पनि अनुगमनको क्रममा दिइएको विभागले जनाएको छ ।


रवि धिताल