प्रधानमन्त्रीले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्छः गौतम



काठमाडौं । पूर्वउपप्रधान एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनआन्दोलनका पीडित पक्षसँग माफी माग्नुपर्ने बताएका छन् ।

काठमाडौंमा बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले जनयुद्धकालमा राम्रा काम पनि भएका र नराम्रा काम पनि भएको भन्दै प्रधानमन्त्री दाहालले जनयुद्धका पीडितका घर–घरमा पुगेर माफी नमागेसम्म आफू माओवादीको पार्टी सदस्यता लिन नसक्ने स्पष्ट पारे ।

अन्यथा आफू नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पार्टीमा जानसक्ने तर नेकपा माओवादी केन्द्रमा जान नसक्ने उनले बताए ।

राजनीतिक व्यक्तिको हत्या गर्नु मार्क्सवाद नभई गल्ती भएको उनको तर्क छ । नेता गौतमले नेकपा एमालेले ७० वर्षे उमेर हद नहटाएको दाबी गरे । उनले उमेर हद संविधानको धारा २४ को विरुद्धमा रहेकाले हट्नैपर्ने बताए ।

समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवादभन्दा अरु केही नरहेको उनले जिकिर गरे । पार्टीको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री स्वयंले नै एमसीसीको व्याख्यात्मक टिप्पणीमाथि प्रश्न उठाउनुले धेरै कुरा शंकाको घेरामा आएको निष्कर्ष उनले निकालेका छन् ।


रवि धिताल