कि हामी बिजुली बेच्दैनौ भन्नुपर्‍यो नत्र भारतको कुरा मान्नुपर्ने हुन्छ: देउवा



काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालले चीन र भारतसँग सन्तुलन कायम गरेर अघि बढ्नु नै बुद्धिमता हुने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले चीन र भारत नै नेपालका सधैँका छिमेकी भएकाले सधैँ दुई देशसँग सन्तुलन कायम गर्नुपर्ने बताएका हुन् । सभापति देउवाले देशले अर्को देशसँग साथी बनाउन सक्ने र छिमेकी बनाउन नसक्ने भन्दै भएका दुई छिमेकी देशलाई बुझाएर नेपालले अघि बढ्नुपर्ने बताए ।

नेपालसँग विद्युत किन्ने भनेको भारत मात्रै भएकाले नेपालले की विद्युत नै बेच्दिन भन्नुपर्ने नत्र भारतले भनेका कुराहरुमा सहमति जनाउनुपर्ने बाध्यता रहेको बताए । भनेका कुरा नमान्ने हो भने विद्युत नकिन्ने हुँदा थोरै लचिलो भएर भए पनि देशको हीतमा काम गर्नुपर्ने बाध्यता रहेको उनको भनाइ थियो ।

‘बिजुली नेपालमा सबैभन्दा बढी छ, बायर को छ एउटै छ, को छ बायर इण्डिया, की हामी बिजुली बेच्दै बेच्दैनौँ भन्नुपर्‍यो, नत्र उसको कुरा मान्नुपर्ने हुन्छ हेर्नुस् । त्यही कुरा हो । बायरले बिजुली किन्ने हो, त्यसको कुरा सुन्नुपर्ने बाध्यता छ हामीलाई । नत्र कोही आउँदैन, बिजुली किन्दैन, हामीसँग बिजुली बढी भएपनि बिजुली उसले किन्दै किन्दैन । किन्नु त पर्ने हो नि, त्यसकारण हाम्रा केही बाध्यता र अफ्ठ्यारा छन् । यी सबैकुरा बुझ्नुपर्छ ,’देउवाले भने, ‘ हामीले सबैलाई मिलाउनुपर्छ । चीन र भारत दुई वटा हाम्रो छिमेकी हुन्, दुवैसँग राम्रो सम्बन्ध राख्नुपर्ने हाम्रो बाध्यता छ । आवश्यकता छ । कोसँग कति बोल्ने कति कुरा राख्ने भन्ने हुन्छ । चीनलाई र भारतलाई दुवैलाई सम्झाउन सकिन्छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्छ । साथी बनाउन सक्नुहुन्छ तर छिमेकी बनाउन सकिँदैन । भारत र चीन नेपालका नेभर छिमेकी हुन् । बदल्न सकिँदैन, उनीहरुले भनेको मान्नुपर्छ । सन्तुलन गरेर जानुपर्छ । यसमा नै हाम्रो बुद्धिमता छ । हाम्रा समस्या समाधान गर्नुपर्ने हाम्रो कर्तव्य हो ।’

सभापति देउवाले सरकार र कर्मचारीतन्त्र एक आपसमा मिलेर मात्रै देश विकास गर्न सकिने बताए ।


क्लिकमान्डु