अवरुद्ध ताप्लेजुङ-काठमाडौँ उडान सुरु, भाडा पनि घट्यो



फाइल तस्बिर

ताप्लेजुङ । नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौँ सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण जेठ २४ देखि काठमाडौँ-सुकेटार उडान हुन सकेको थिएन ।

मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौँबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एक जना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।

करिब एक हजार आठ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं-ताप्लेजुङको भाडा यसअघि ९ हजार ६ सय ५३ थियो भने हाल घटाएर ८ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै ताप्लेजुङ-काठमाडौँको भाडा यसअघि ९ हजार ४ सय ५३ भएकोमा घटाएर ८ हजार ४ सयमा झारिएको छ ।

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरुपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ ।


रवि धिताल