जुम्लामा स्थानीय तहबाटै उद्योग दर्ता



जुम्ला । जुम्लाका आठवटै स्थानीय तहबाट अब उद्योग दर्ता हुने भएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले आज तीन हजार एक सय ८३ वटा उद्योग स्थानीय तहलाई हस्तान्तरण गरेको छ ।

उद्योगतर्फ दुई सय ९१ र वाणिज्य तर्फका दुई हजार आठ सय ९२ वटा उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख श्रीकृष्ण देवकोटाले जानकारी दिए ।

कार्यालयमा हालसम्म तीन हजार ६ सय ९३ उद्योग र तीन हजार एक सय चारवटा वाणिज्य उद्योग दर्ता भएका छन् । कार्यालय प्रमुख देवकोटाले भने, ‘कार्यालयबाट हुने उद्योगहरुको दर्ता र नवीकरण गर्ने अधिकारको जिम्मेवारी स्थानीय तहलाई दिएका छौँ ।’

कार्यालयमा हालसम्म दर्ता भएका तीन हजार छ सय ९३ उद्योगमध्ये दुई सय ९१ उद्योगहरु स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । तीन हजार चार सय दुईवटा उद्योग कार्यालय मातहतमा रहने कार्यालय प्रमुख देवकोटाको भनाइ छ ।

वाणिज्य उद्योततर्फका तीन हजार एक सय चारवटा उद्योगमध्ये दुई हजार आठ सय ९२ उद्योग स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । दुई सय १२ वटा उद्योग कार्यालय मातहत रहने उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले जनाएको छ ।

कार्यालय प्रमुख देवकोटाका अनुसार उद्योगतर्फका पाँच लाखभन्दा माथि पुँजी भएका र वाणिज्य उद्योततर्फ १० लाखभन्दा माथि पुँजी भएका उद्योग भने कार्यालयमातहतमा दर्ता हुनेछन् ।

स्थानीय तहलाई हस्तान्तरण गरेको उद्योगतर्फका जम्मा दुई सय ९१ र  वाणिज्यतर्फका दुई हजार आठ सय ९२ वटा उद्योग जिल्लाका स्थानीय तहलाई हस्तान्तरण गरिएको कार्यालय प्रमुख देवकोटाले जानकारी दिए ।

उद्योग दर्ता गर्नेका लागि सदरमुकाम खलङ्गा आउने सेवा प्रवाह स्थानीय तहबाट हुने भएकाले यहाँका नागरिकलाई छिटो र सहज सेवा दिन स्थानीय तहको काँधमा आएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरिनन्द आचार्यले बताए । स्थानीय तहमै उद्योग दर्ताको अख्तियारी प्राप्त भएपछि सेवाग्राहीलाई सहज वातावरणमा सेवा प्रदान गरिने भएको छ ।


रवि धिताल