रुसी सेनामा ८ महिनामा दुई लाख ८० हजार नयाँ भर्ती



एजेन्सी । रुसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभेदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन् । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले  आइतबार उक्त जानकारी गराएका हुन् ।

युक्रेनसँगको आक्रामक कारबाही १९औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको बताए ।

रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ । सन् २००८ देखि २०१२ सम्म रुसको नेतृत्व गरेका मेदभेदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन् ।


रवि धिताल