सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको छ: मन्त्री शर्मा



दाङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाप्रतिको विश्वास जगाउनसक्नु वर्तमान सरकारको प्रमुख उपलब्धि भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्र घोराही उपमहानगरपालिका समिति दाङले आयोजना गरेको कार्यकर्ता प्रशिक्षणमा उनले अहिलेको व्यवस्थाप्रति चरम निराशा फैलाउने काम भइरहेका बेला सरकारले व्यवस्थाप्रति विश्वास जगाउने काम गरेको बताइन् ।

आफ्नो देशका नागरिकलाई अर्को देशको नागरिक बनाएर तेस्रो देश पठाउने, हजार साँवा दिएर लाखौँ ब्याज लिने मिटरब्याजजस्ता मानवताविरुद्धका अपराध रोकेर ती प्रकरणमा संलग्नमाथि कारबाही थालिनु सुशासनको पक्षमा महत्त्वपूर्ण कदम भएको पनि उनले जिकिर गरिन् ।

सत्ता र शक्तिमा पुगेकाहरूले जे गरे पनि हुने गलत प्रवृत्तिको अन्त्य गरी देशका उपप्रधानमन्त्री, गृहमन्त्री तहसम्म पुगेका व्यक्तिलाई पनि कानुनी कठघरामा जाने स्थिति वर्तमान सरकारले सुशासनको पक्षमा गरेको प्रयासको परिणाम भएको मन्त्री शर्माको भनाइ छ ।

प्रधानमन्त्रीले गल्ती गरे आफूलाई समेत छानबिन गर्न सार्वजनिक गरिरहेको उनले उल्लेख गरिन् । ‘छानबिनका क्रममा गल्ती भेटिए मलाई समेत नछाड भनेर कुनै प्रधानमन्त्रीले भनेको इतिहास छैन,’ उनले भनिन्, ‘उहाँले पार्टीभित्रका नेताहरूलाई पनि गल्ती गएको भए जेल जाने मानसिकता बनाइराख्न निर्देशन दिनुभएको छ, यो चानचुने विषय होइन ।’

मन्त्री शर्माले अन्य दलजस्तै माओवादीका केही नेता तथा कार्यकर्ता बिग्रेको यथार्थ भए पनि समग्र पार्टी र आन्दोलन नै बिग्रियो भन्नु सही नभएको तर्क गरिन् ।

कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य जयपुरी घर्तीले निरन्तर क्रान्तिको सिद्धान्तअनुसार राजनीतिमा सक्रिय हुन नेता कार्यकर्तालाई आग्रह गरिन् । नेतृत्वको राम्रो कामको समर्थन र गलत कामको आलोचना गरेर अघि बढ्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरिन् ।


रवि धिताल