संरचनागत सुधार नगरे मुलुकमा वैदेशिक लगानी आउन सक्दैनः पूर्वअर्थमन्त्री शर्मा



काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले सरकारले संरचनागत सुधार नगरे नेपालमा सजिलै वैदेशिक लगानी आउन नसक्ने बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा पूर्वअर्थमन्त्री शर्माले नेपालमा लगानीका प्रशस्त सम्भावना भए पनि लगानीका सम्भावना परिचालन गर्न नसकेको बताए ।

‘नेपालमा आर्थिक दृष्टिले हेर्दा लगानीको अभाव महसुस भइरहेको छ,’ उनले भने, ‘सरकारले आर्थिक कूटनीतिकको क्षेत्रमा मेहनत र प्रयास नगर्दा सरकारका संरचनाहरुले आवश्यकताका आधारमा काम गर्न सकेका छैनन्, मुलुकको संरचनागत सुधार आजको आवश्यकता हो ।’

पूर्वअर्थमन्त्री शर्माले मुलुकमा भारत, चीन र अमेरिकाको लगानी आइरहेको भन्दै उक्त लगानी नेपालको प्रयासले भन्दा पनि ती देशको आर्थिक कूटनीतिका कारण प्राप्त भइरहेको तर्क गरे । वैदेशिक लगानी ल्याउन सरकारले ठूलो प्रयास गर्नुपर्ने उनले सुझाव दिए ।

नेपालको अर्थ-कूटनीतिक कमजोर हुँदा एक देशले नेपालमा लगानी गर्दा अर्को देश सशंकित हुने अवस्था रहेको बताए । सरकारले आर्थिक रुपमा समृद्धि ल्याउनका लागि संरचनागत सुधार र स्थिर राजनीति आवश्यक रहेको उनको तर्क छ । ‘अस्थिर राजनीति भएसम्म आर्थिक वृद्धि हुन सक्दैन,’ उनले भने ।


रवि धिताल