विदेश जानैपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक छः मन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महत १२ कक्षाको अध्ययन सक्नेबित्तिकै विदेश जानुपर्छ भन्ने मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री महतले राष्ट्रिय रुपमा सबैको मानसिकता बाहिर जानैपर्छ भन्ने भएको भन्दै विद्यार्थी र युवाको मानसिकता परिवर्तन गर्न आवश्यक रहेको बताएका हुन् ।

नेपालमै धेरै अवसर भएको भन्दै उनले ५० देखि १०० प्रतिशत छात्रवृत्तिबिनाको विदेशमा अध्ययनका लागि जान नहुने तर्क गरे । नेपालबाट जाने विद्यार्थी राम्रा विश्वविद्यालयमा नगएको भन्दै उनले उनीहरुले अध्ययन पूरा गर्न नसक्ने र राम्रो अवसरसमेत पाउन नसक्ने बताए ।

नेपालमा इन्जिनियरिङ पढ्नेहरु विदेशका राम्रा क्याम्पसमा छात्रवृत्ति पास गरेर जानसक्ने क्षमता भए पनि कक्षा १२ बाटै ४० हजार विद्यार्थी बाहिर जाने गरेको तथ्यांक पेस गरे । अर्थमन्त्री महतले नेपालमा टेक्नोलोजी क्षेत्रमा ठूलो अवसर रहेको बताए ।

ठूलो संख्यामा युवाहरु आइटीमा लागे पनि करको दायरामा भने नआएको उनले बताए । उनले नेपालबाट बेलायतमा १०० मिलियन पाउन्डबराबरका सफ्टवेयरहरु निर्यात हुने गरेको बेलायतले स्वीकार गरेको उल्लेख गरे ।

नेपालमा आइटी क्षेत्रमा ठूलो सम्भावना रहेकाले सरकारले प्रोत्साहन गरिरहेको दाबी गरे । उनले आर्थिक वर्षको बजेटमा आइटी क्षेत्रमा लगाएको लगानीको ५० प्रतिशत आम्दानी कर कम गर्ने नीति लिएको पनि बताए ।

‘आइटी र पर्यटनको ठूलो सम्भावनाको खानी नेपाल भएकाले पूर्वाधार निर्माण गर्न आवश्यक छ,’ उनले भने, ‘पर्यटन प्रवर्धनका लागि ठूलो ऋण लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनाए पनि कसरी ऋण तिर्ने भन्ने समस्यामा सरकार छ, पोखरा विमानस्थलभन्दा पहिला त्यो लगानीले निजगढमा विमानस्थल बनाएको भए राम्रो हुने अवस्था देखिएको छ ।’


रवि धिताल