सुशासनको अभियानलाई असफल बनाउने दुष्प्रयत्न भइरहेको छः उपप्रधानमन्त्री श्रेष्ठ



काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले थालेको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका छन् ।

नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभामा मन्त्री श्रेष्ठले सरकारको सुशासनको अभियानलाई असफल गराउने दुष्प्रयत्न भइरहेको बताएका हुन् ।

जुन प्रवृत्ति र तागतका विरुद्ध सुशासनको अभियान सुरु गरिएको हो, सोही प्रवृत्ति र तागतहरु संगठित भएर सरकारको अभियान असफल गर्न लागेको उनले बताए । यद्यपि सरकारले सुशासनको अभियानबाट विश्राम नलिने उनले स्पष्ट पारे ।

यो अभियानलाई सफल बनाउँदै नेपाललाई समृद्ध बनाइछाड्ने प्रतिबद्धता उनले जनाए । मन्त्री श्रेष्ठले देशलाई समृद्ध बनाउन राष्ट्रिय मुद्दामा सबै राजनीतिक पार्टीहरुले सहमति कायम गर्नुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रलाई देशको विकासको आधार मानेर अगाडि बढाउनुपर्नेमा जोड दिए । उनले पर्यटन क्षेत्रको विकासका निम्ति सरकारले ध्यान पुर्‍याउने आश्वासन दिए ।


रवि धिताल