जनप्रतिनिधिबीचको द्वन्द्वका कारण सर्लाहीका चार स्थानीय तहले अझै ल्याएनन् बजेट



सर्लाही । सर्लाहीका चार स्थानीय तहले आर्थिक वर्ष २०८०/८१ को बजेट अझै सार्वजानिक गर्न सकेका छैनन् । जिल्लाका २० स्थानीय तहमध्ये हरिपूर्वा र हरिवन नगरपालिका तथा चन्द्रनगर र बसरबरिया गाउँपालिकाले बजेट ल्याउन नसकेका हुन् ।

ती स्थानीय तहमा जनप्रतिनिधिबीचको आपसी द्वन्द्वका कारण नयाँ बजेट आउन नसकेको जनाइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार पालिकाले हरेक वर्ष असार १० भित्र आर्थिक वर्षको राजस्व र व्यायको अनुमान गाउँ वा नगरसभामा पेस गर्नुपर्ने हुन्छ ।

हरिपूर्वा नगरपालिकामा तालाबन्दी रहेका कारण बजेट ल्याउन नसकिएको नगर प्रमुख विनोद साहले जानकारी दिए ।

चन्द्रनगर र बसबरिया गाउँपालिकामा बहुमत कार्यपालिका सदस्य आन्दोलनमा रहेका कारण बजेट आउन नसकेको हो भने हरिवन नगरपालिकामा पनि आपसी सहमति जुट्न नसक्दा नयाँ बजेट सार्वजानिक नभएको बताइएको छ । जिल्लाका बाँकी अन्य नगरपालिका र गाउँपालिकाले चालु आवको बजेट ल्याइसकेका छन् ।


रवि धिताल