पाकिस्तानसँग नेपाल २३८ रनले पराजित



काठमाडौं । एकदिवसीय क्रिकेट वरीयतामा विश्वमै १ नम्बरमा रहेको पाकिस्तानसँग नेपालले २३८ रनको फराकिलो हार व्यहोरेको छ । पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेट गुमाउँदै १०४ रनमा समेटिएको हो ।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए भने आरिफ शेखले २६ तथा गुल्सन झाले १३ रन जोडे । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान रोहित पौडेल शून्य रनमा आउट भए ।

यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३४२ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक १५१ रन बनाए भने अफ्तिखार अहमले १०९ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाबरले १३१ बलमा १४ चौका र ४ छक्काको सहयोगमा १९औं शतक बनाएका हुन् ।

त्यस्तै अफ्तिखारको विस्फोटक ब्याटिङ गर्दै ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । मोहम्मद रिजवानले ४४ रन जोडे ।

नेपालले सुरुवाती चरणमा पाकिस्तानलाई दबाबमा राखे पनि पाँचौँ विकेटका लागि बाबर र अफ्तिखारको साझेदारी समयमा तोड्न नसक्दा विशाल स्कोर बनेको थियो ।

सोमपाल कामीले खेलको अन्तिम ओभरमा दुई विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए । नेपाल दुई जना पाकिस्तानी ब्याटरलाई रनआउट गरेको थियो ।


रवि धिताल