पाकिस्तानद्वारा नेपाललाई ३४३ रनको लक्ष्य प्रस्तुत
काठमाडौं । एकदिवसीय क्रिकेट वरीयतामा विश्वमै १ नम्बरमा रहेको पाकिस्तानले नेपाललाई ३४३ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
एसिया कपअन्तर्गतको पहिलो खेलमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरको खेलमा ६ विकेट गुमाएर ३४२ रन बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले सर्वाधिक १५१ रन बनाए भने अफ्तिखार अहमले १०९ रन बनाए । तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका बाबरले १३१ बलमा १४ चौका र ४ छक्काको सहयोगमा १९औं शतक बनाएका हुन् ।
त्यस्तै अफ्तिखारको विस्फोटक ब्याटिङ गर्दै ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे । मोहम्मद रिजवानले ४४ रन जोडे ।
नेपालले सुरुवाती चरणमा पाकिस्तानलाई दबाबमा राखे पनि पाँचौँ विकेटका लागि बाबर र अफ्तिखारको साझेदारी समयमा तोड्न नसक्दा विशाल स्कोर बनेको थियो ।
सोमपाल कामीले खेलको अन्तिम ओभरमा दुई विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले १-१ विकेट लिए । नेपाल दुई जना पाकिस्तानी ब्याटरलाई रनआउट गरेको थियो ।