एमसीसी परियोजनाको औपचारिक आरम्भ



काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाको औपचारिक आरम्भ भएको छ । एमसीसी कम्प्याक्ट कार्यक्रम आजदेखि औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा गएको हो ।

कार्यक्रम कार्यान्वयनका लागि अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीको सम्झौता कार्य सञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्डले हस्ताक्षर गरेका छन् । सम्झौतामा हस्ताक्षरका लागि एलफोर्ड आजै नेपाल आइपुगेका हुन् ।

कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबमा यो परियोजना २०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्नेछ ।

एमसीसीअन्तर्गतको प्रसारण लाइन निर्माण गर्न विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेसन अन्तर्गतको मिलेनियम च्यालेञ्ज अकाउन्ट नेपाल (एमसीए नेपाल)ले ४०० केभी प्रसारण लाइन निर्माणका लागि नुवाकोटमा जग्गा अधिग्रहण प्रक्रिया सुरु गरेको छ ।

परियोजनाअन्तर्गत चारवटा प्रसारण लाइन, तीन सबस्टेसन र पूर्व-पश्चिम राजमार्गको ७७ किमी सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी सन् २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।

यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कुल लागत छ ।

विद्युत् प्रसारण लाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् । नेपालको नेतृत्वदायी भूमिका रहेको एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको एलफोर्डले जनाए ।


रवि धिताल