एलओडीले कर छलेको प्रारम्भिक निष्कर्ष, विस्तृत अनुसन्धानमा लैजाने तयारी



काठमाडौं । राजस्व अनुसन्धान विभागले ठमेलमा सञ्चालित क्लब लर्ड अफ ड्रिंक्स (एलओडी) ले कर छली गरेको प्रारम्भिक निष्कर्ष निकालेको छ ।

विभागले प्रारम्भिक अनुसन्धानका क्रममा एलओडीले फर्जी बिलबिजक प्रयोग गर्दै कर छली गरेको विभिन्न प्रमाण फेला पारेको स्रोतले जानकारी दियो ।

विभागले एलओडीको सिस्टमबाट कपी गरेर लगेको तथ्यांकहरु अनुसन्धान गर्दा कर छली भएको प्रारम्भिक निष्कर्ष निकालेको हो ।

नेपाल सरकारलाई कम राजस्व तिर्ने नियतले एलओडीले गलत वित्तीय विवरण तयार गरेको विभागको प्रारम्भिक ठहर छ ।

गत साउन २७ गते बिहान विभागले एलओडीमा छापा मार्दै विभिन्न कागजात नियन्त्रणमा लिएको थियो ।

‘हामीले प्रारम्भिक प्रतिवेदन तयार गरिसकेका छौं । भोलि बिदा भएकाले पर्सी डिजी साप (महानिर्देशक) लाई प्रतिवेदन पेश गर्नेछौं,’ विभागका एक अधिकारीले भने,‘ प्रारम्भिक अनुसन्धानमा एलओडीका विषयमा विस्तृत अनुसन्धान गर्नु पर्ने देखिएको छ । लुज बिल प्रयोग भएको, स्टकको विवरण फरक परेको जस्ता विषय भेटिएका छन् । विस्तृत अनुसन्धानबाट मात्रै कति कर छली भएको छ भन्ने प्रष्ट होला ।’

कर छली गरेको कुनै आधार देखिएमा विभागका महानिर्देशकले अनुसन्धानका लागि राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार अनुसन्धान अधिकृत तोक्नु पर्ने व्यवस्था छ ।

ऐनको दफा ८ मा राजस्व चुहावटका सम्बन्धमा कुनै सूचना प्राप्त भएका तत्कालै प्रारम्भिक अनुसन्धान गर्नु पर्ने कानूनी व्यवस्था छ ।

सोही व्यवस्था अनुसार राजस्व अनुसन्धान विभागले एलओडीमा छापा पारेको थियो । यस्तै, प्रारम्भिक अनुसन्धानको क्रममा कसैले राजस्व चुहावट गरेका वा चुहावट गरेको शंका गर्ने मनासिव आधार भएका अनुसन्धानका लागि ऐनको दफा १० बमोजिम महानिर्देशकले अनुसन्धान अधिकृत तोक्नु पर्ने कानुनी व्यवस्था छ ।

उक्त व्यवस्था अनुसार शुक्रबार प्रारम्भिक प्रतिवेदन बुझेपछि विभागले महानिर्देशकले अनुसन्धान अधिकृत तोक्ने विभागका एक अधिकारी बताउँछन् ।

अनुसन्धान अधिकृतले अनुसन्धान सुरु भएको ६ महिना भित्र कार्य सम्पन्न गर्नु पर्छ । तर, अनुसन्धान अधिकृतले काम सम्पन्न नभएको भन्दै समय मागेका महानिर्देशकले ३ महिना समय थप्न सक्छन् ।

गत साउन २७ गते एलओडीमा छापा मार्दा राजस्व अनुसन्धान विभागले एलओडीको गोदाममा सील लगाएको थियो ।

एलओडीको गोदाममा भएका सामानको लगत लिएपछि विभागले गोदाममा लगाएको सील खोलेको विभागका महानिर्देशक नवराज ढुंगानाले जानकारी दिएका थिए ।

दिनमा लाखौं रुपैयाँको कारोबार गर्दासमेत कानुनअनुसार मूल्य अभिवृद्धि कर र आय कर नतिरेको लिखित उजुरीका आधारमा विभागले एलओडीमा छापा मार्दै आवश्यक कागजात नियन्त्रणमा लिएको थियो ।

एलओडीका मुख्य सञ्चालक राजु सिंह सुवाल र रविन श्रेष्ठ हुन् । विभागले एलओडीमा छापा मारेपछि केही दिन विभागमा सम्पर्कमा नरहेका उनीहरु दुई जनाले पछी विभागलाई प्रारम्भिक अनुसन्धान गर्न सहयोग गरेका थिए ।

‘हामीले उहाँहरुलाई कानुन अनुसार अनुसन्धान गर्ने भन्दै राजनीतिक शक्ति प्रयोग नगर्न भनेका छौं, ’विभागका एक अधिकृतले भने, ‘राजस्व नउठेको नयाँ क्षेत्र पहिचान गर्नु पर्ने राज्यको नीतिअनुसार क्लबहरुमा छापा मारिकएको हो । आगामी दिनमा पनि हामीहरु राजस्व छली भइरहेका क्षेत्रमा अनुसन्धान गर्नेछौं ।’

नाबालिगलाई क्लबमा प्रवेश अनुमति दिएको आरोपमा गत असार २१ गते एलओडीका सञ्चालक पक्राउ परेका थिए । अदालतले पुर्पक्षका लागि थुनामा राख्न नपर्ने आदेश दिएपछि हाल उनीहरु तारिखमा छन् ।

एलओडी विश्वका चर्चित क्लबमध्ये ४९ औं नम्बरमा पर्ने सञ्चालकहरुको दाबी छ । एलओडीले दैनिक गर्ने कारोबारको वास्तविक बिल बिजक जारी नगरी नियमित कर छली गरिरहेको राजस्व अनुसन्धान विभागको आशंका छ ।


क्लिकमान्डु