५ वर्षमा सक्नुपर्ने एमसीसी आजदेखि कार्यान्वयनमा जाँदै, एलफोर्ड नेपालमा



काठमाडौं । मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना आजदेखि औपचारिक रूपमा कार्यान्वयन (इन्ट्री इन्टु फोर्स)मा जाने भएको छ ।

कार्यान्वयन सम्झौताका लागि एमसीसीको सम्झौता कार्यसञ्चालन हेर्ने उपाध्यक्ष क्यामरुन एलफोर्ड मंगलबार नेपाल आइपुगेका छन् । कार्यान्वयनमा प्रवेश गरेको पाँच वर्षभित्र परियोजना सक्नुपर्ने हुन्छ । यस हिसाबम यो परियोजना ०८५ सालको भदौ १२ (२९ अगस्ट ०२८) भित्र सम्पन्न गरिसक्नुपर्ने छ ।

एमसीसी अन्तर्गतको प्रसारणलाइन निर्माणका लागि भने विभिन्न जिल्लामा जग्गा मुआब्जाका लागि सूचना प्रकाशन भइसकेको छ । परियोजना अन्तर्गत चारवटा प्रसारणलाइन, तीन सबस्टेसन र पूर्व–पश्चिम राजमार्गको ७७ किमि सडकखण्ड विस्तार तथा मर्मत गर्ने गरी २०१७ मा अमेरिकासँग सम्झौता भएको थियो ।

यसका लागि एमसीसीको ५० करोड अमेरिकी डलर, नेपाल सरकारले सुरुमा तय गरेको १३ करोड अमेरिकी डलर र चालू आर्थिक वर्षमा थपिएको ६ करोड ७० लाख डलर गरी ६९ करोड ७० लाख अमेरिकी डलर कूल लागत छ ।

विद्युत् प्रसारणलाइनका लागि ८५४ वटा टावर निर्माण हुनेछन् भने रातमाटे, दमौली र बुटवलमा सबस्टेसन बन्नेछन् ।

नेपालको नेतृत्वदायी भूमिका रहेको यस एमसीसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको अमेरिकी दूतावासले जनाएको छ ।

नेपालमा एमसीसीको कार्य अवधिभर बृहत्तर सरोकारवाला, नेपालका सरकार र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको दूतावासले जनाएको छ ।

“यस सम्झौताको सफल कार्यान्वयन सुनिश्चित गर्न एमसीए–नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौँ । साथै, सम्झौताका लक्ष्य समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौँ”, दूतावासले उल्लेख गरेको छ ।

एमसीसीले गत वर्ष व्याख्यात्मक घोषणा प्राप्त गरेको उल्लेख गर्दै दूतावासले उक्त व्याख्यात्मक घोषणासँग सहमत रहेको जनाएको छ ।

नेपाल सरकारअन्तर्गतको मिलिनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए नेपाल)ले परियोजनाको सम्पूर्ण व्यवस्थापन गर्नेछ ।


क्लिकमान्डु