एक साताभित्रै विद्युत् विधेयक संघीय संसदमा पेस हुन्छ: ऊर्जामन्त्री



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले एक साताभित्र विद्युत् विधेयक संघीय संसदमा पेस गरिने बताएका छन् ।

मुलुकको ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण मानिएको सो विधेयक मन्त्रिपरिषद्को विधेयक समितिले पूर्णरूपमा पारित गरी मन्त्रिपरिषदमा पेस गरिसकेको जानकारी दिँदै उनले यसै साताभित्र सो विधेयकले अन्तिम निष्कर्ष पाउने र संघीय संसदमा पेस हुने बताए ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीले आज आयोजना गरेको कार्यक्रममा उनले सरकारले मुलुकको ऊर्जा क्षेत्रमा देखिने गरी काम गरिरहेको बताए । आन्तरिक बिजुली खपत बढाउनेदेखि प्रसारण तथा वितरण प्रणालीको निर्माणमा उत्तिकै ध्यान दिइएको उल्लेख गर्दै उनले समग्र विषयलाई एकीकृत कार्ययोजनाका साथ अगाडि बढाइएको स्पष्ट पारे ।

सरकारले सन् २०२३ देखि २०३५ सम्मको १२ वर्षे कार्ययोजना तयार पारेर ऊर्जा क्षेत्रको एकीकृत विकास गर्न लागिएको मन्त्री बस्नेतले जानकारी दिए ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका क्रममा १० वर्षमा १० हजार मेगावाट बिजुली बिक्रीका लागि सहमति भइसकेको जानकारी दिँदै उनले निजी क्षेत्रलाई पनि साथमा लिएर जाने सरकारको योजना रहेको बताए ।

निजी क्षेत्रलाई खुला हृदयका साथ लगानी गर्न आग्रह गर्दै उनले प्रसारण प्रणाली नभएर बिजुली खेर फाल्नुपर्ने अवस्थाको पूर्णतः अन्त्य गरिने विश्वास दिलाए । उनले भने, ‘प्रसारण प्रणाली नभएर बिजुली खेर गयो भन्ने अवस्था आउन दिने छैनौं । सरकार र निजी क्षेत्र एक अर्काका परिपूरक भएर अगाडि बढ्दा मात्रै मुलुकको समृद्धि हासिल हुन सक्छ ।’

उनले सबैका लागि ऊर्जा र समृद्धिका लागि ऊर्जा भन्ने मार्गचित्रका साथ सरकारले आफ्ना गतिविधि अगाडि बढाएकाले ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई आग्रह गरे ।

विगतका कमजोरीबाट पाठ सिकेर प्राप्त भएको उपलब्धिलाई थप संस्थागत गर्दै जाने सरकारको सोच रहेको मन्त्री बस्नेतको भनाइ छ । उनले विगतमा लोडसेडिङको अन्त्य गर्ने विषय प्रधान हुने गरेको तथ्य पेस गर्दै अहिले भने विद्युत् खपत बढाउने र बढी भएको बिजुली बिक्री गर्नेतर्फ मूल उद्देश्य केन्द्रित भएको उल्लेख गरे ।

ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले ऊर्जा क्षेत्रमा बदलिएको आयामअनुसार व्यावसायिक रूपमा प्रसारण लाइनहरूको निर्माण गरेर ऊर्जा उद्यमीलाई राहत प्रदान गर्न लागिएको बताए । उनले प्रसारण लाइन प्रयोग गरेबापत निश्चित शुल्क तिरेर बिजुली प्रसारण गर्न पाउने प्रबन्ध गर्न लागिएको जानकारी दिए ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका कार्यकारी निर्देशक डा. नेत्र ज्ञवालीले प्राधिकरणको परिपुरक र सहयोगी संस्थाका रूपमा आफ्नो कम्पनीले प्रसारण प्रणालीको विकासमा लागिपरेको बताए ।


क्लिकमान्डु