तनहुँमा बर्सेनि घट्दै धान उत्पादन, कृषि ज्ञान केन्द्र भन्छ- फलेको धान पनि बिक्दैन



सांकेतिक तस्बिर

तनहुँ । धानखेतीतर्फ कृषकको आकर्षण घट्दै जाँदा तनहुँमा बर्सेनि धान उत्पादन घट्दै गएको छ । एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान घट्दो अवस्थामा रहेको कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए ।

पुरानो बीउ प्रयोग गरिएका कारण पनि धान उत्पादन घट्दो क्रममा रहेको उनको भनाइ छ । ‘पुरानो बीउ प्रतिस्थापन गर्न सकिए धान उत्पादन बढाउन सकिने र यसतर्फ कार्यालयले सोच पनि बनाएको छ,’ उनले भने, ‘वर्षे धान विक्री नभएकाले धानखेतीतर्फ कृषकको आकर्षण घटेको छ, धान बिक्री हुन सकिरहेको छैन, कृषकले यत्तिकै थन्काएर राख्नुपर्ने अवस्था छ । बिक्री नै नभएपछि यसतर्फ आकर्षण पनि बढाउन सकिएको छैन ।’

एक दशकयता जिल्लामा वर्षे, चैते र घैय्या धान उत्पादन घट्दो अवस्थामा छ । विसं २०६० मा ३५ हजार सात सय ८६ मेट्रिक टन वर्षे धान उत्पादन भएकामा विसं २०७९ मा ३३ हजार दुई सय ८० मेट्रिक टन धान उत्पादन भएको थियो । त्यतिबेला १२ हजार तीन सय ४० हेक्टर जमिनमा वर्षे धान खेती हुने गरेकामा अहिले घटेर आठ हजार तीन सय २० हेक्टर जमिनमा धान खेती भइरहेको केन्द्रले जनाएको छ ।

त्यस अवधिमा वर्षे धान खेती गरिएको चार हजार २० हेक्टर जमिन घटानका साथै दुई हजार पाँच सय ६ मेट्रिक टन धान उत्पादनमा कमी आएको छ । विसं २०६० मा ११ हजार सात सय ८० मेट्रिक टन चैते धान उत्पादन भएकामा विसं २०७९ मा सात हजार नौ सय ३८ मेट्रिक टन उत्पादन भएको थियो । त्यतिबेला तीन हजार आठ सय हेक्टर जमिनमा चैते धान खेती हुने गरेकामा अहिले घटेर एक हजार आठ सय ९० हेक्टर क्षेत्रफलमा मात्रै सीमित भएको छ ।

विसं २०६० मा आठ हजार एक सय ९४ मेट्रिक टन धान उत्पादन भएकामा विसं २०७९ मा २५ मेट्रिक टन मात्रै धान उत्पादन भएको छ । त्यतिबेला तीन हजार नौ सय दुई हेक्टर क्षेत्रफलमा घैय्या धान खेती हुने गरेकामा अहिले घटेर दश हेक्टर जमिनमा मात्रै उक्त खेती भइरहेको छ । यस अवधिमा घैय्या धान खेती गर्ने क्षेत्रफल तीन हजार आठ सय ९२ हेक्टरले घटेको  छ भने उत्पादन पनि घटेर आठ हजार एक सय ६९ मेट्रिक टन भएको छ ।

प्रमुख तिवारीका अनुसार कार्यालयले चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गर्न लागेको छ । चैते धानतर्फ कृषकको आकर्षण बढाउन चालु आर्थिक वर्षमा कार्यक्रम सञ्चालन गरिने उनको भनाइ थियो । यसका लागि कार्यालयले हाइब्रिड बीउ, हाते ट्र्याक्टर, धान उत्पादनमा प्रोत्साहन वितरणलगायत कार्यक्रम ल्याएको छ ।

आर्थिक वर्ष २०७९/८० मा कार्यालयले चैते धान प्रवद्र्धनका लागि रु ५० लाख बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षमा त्यसलाई बढाएर एक करोड ५० लाख पुर्‍याइएको छ । प्रमुख तिवारीले भने, ‘यो वर्ष चैते धानलाई विशेष जोड दिएर कार्यक्रम सञ्चालन गरिने र यसका लागि एक करोड बजेट वृद्धि भएको छ ।’

गत आर्थिक वर्षमा चैते धान प्रवर्धन कार्यक्रममार्फत १० वटा समूहलाई दुई हजार पाँच सय किलो हाइब्रिड बीउ वितरण गरिएको र त्यसका लागि ४३ लाख ५९ हजार खर्च भएको थियो । त्यस्तै १६ हजार १२ किलो उन्नत बीउ, २५ वटा हाते ट्र्याक्टर, ३४ वटा मिलका साथै धान उत्पादनमा ६ लाख प्रोत्साहन रकम उपलब्ध गराइएको थियो ।

चालु आर्थिक वर्षमा चैते धानको बीउ प्रतिस्थापन, उन्नत र हाइब्रिड बीउ प्रयोगमा जोड, उपकरणको प्रयोग, चैते धान सुकाउने उपकरण, धान काट्ने उपकरण वितरण, कुलो निर्माण र मर्मत, चामल मिलको स्तरोन्नति र चैते धानको बजारीकरणमा सहयोग गरिने प्रमुख तिवारीले बताए ।


रवि धिताल