भीभीआईपीले प्लेनको ढोकासम्म गाडी लैजान नपाउने



काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले विमानस्थलको ढोकासम्म अतिविशिष्ट/विशिष्ट व्यक्ति (भीभीआईपी/भीआईपी)ले गाडी लैजान नपाउने व्यवस्था गरेको छ ।

प्राधिकरणले ‘अतिविशिष्ट/विशिष्ट व्यक्ति (भीभीआईपी/भीआईपी) आवागमन व्यवस्थापनसम्बन्धी कार्यविधि २०८०’ अनुसार भीआईपीमा सूचीकृत व्यक्तिहरुका गाडी प्लेनको ढोकासम्म लैजान नपाउने व्यवस्था गरेको हो ।

प्राधिकरणका अनुसार भीआईपी कक्षदेखि आन्तरिक जहाज पार्किङ/र्‍याम्पसम्मको आवागमन, प्रहरीसहितको सम्बन्धित वायु सेवाको भीआईपी सवारी साधनमार्फत गर्ने व्यवस्था मिलाइएको छ ।

अतिविशिष्ट (भीभीआईपी) को सवारीमा प्रयोग हुने सवारी साधनहरुको हकमा र्‍याम्प सुरक्षा पालन हुने गरी र्‍याम्पसम्म सुरक्षा एस्कर्टसहितको आवागमनको व्यवस्था मिलाइएको प्राधिकरणले जनाएको छ ।

भीआईपी सचिवालयका कर्मचारीबाट उनीहरुको आवागमन सहज बनाउन उडान समयभन्दा १ घण्टाअगावै आन्तरिक विमानस्थल टर्मिनल पुगी निषेधित क्षेत्रमा प्रवेश गर्ने भीआईपी सवारी साधनसहितको विवरण आन्तरिक टर्मिनल भवनमा रहेको पास इकाईमा उपलब्ध गराई सवारी साधनको पास लिने व्यवस्था गरेको जनाएको छ ।

सोहीअनुसार नै एयरलाइन्स चेक-इन, लगेज/सुरक्षा जाँचको व्यवस्था मिलाउन अनुरोध गरिएको छ ।


रवि धिताल