विश्वविद्यालयको पुस्तकालयमा अध्ययन गर्दा वर्षको ११ सय तिर्नुपर्ने ! विद्यार्थी आक्रोशित



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय पुस्तकालयले पुस्तकालयमा बसेर अध्ययन गर्न शुल्क लिने भएपछि विद्यार्थी आक्रोशित भएका छन् ।

विद्यार्थीहरुले शुल्क अव्यवहारिक भएको भन्दै आपत्ती जनाएका छन् । केन्द्रिय पुस्तकालयले भदौ १ गतेदेखि विद्यार्थीले पुस्तकालय भित्र बसेर अध्ययन गर्न चाहे शुल्क तिर्नुपर्ने मापदण्ड बनाएको छ । मापदण्डअनुसार अब ६ महिना सदस्यता बन्न ६०० रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ७०० रुपैयाँ, एक वर्ष सदस्यता बन्न १ हजार रुपैयाँ र परिचयपत्र शुल्क १०० गरी ११ सय रुपैयाँ तिर्नुपर्नेछ । केन्द्रिय पुस्तकालयको यो निर्णय उपयुक्त नभएको विद्यार्थीको गुनासो छ ।

विद्यार्थी रामहरि लामिछानेले पुस्तकालयमा बसेर अध्ययन गर्ने शुल्क महँगो भएको बताए । लामिछानेले पुस्तकालयमा स्वतःस्फुर्त रुपमा विद्यार्थी जान पाउनुपर्ने भन्दै पुस्तकालयमा बसेको शुल्क लिने निर्णय विद्यार्थीको हीतमा नभएको बताए ।
विद्यार्थी अध्ययनकै लागि पुस्तकालय जाने गरेको भन्दै कतै काम नगर्ने विद्यार्थी पनि रहेको भन्दै उनीहरुलाई शुल्क तोक्दा अफ्ठ्यारो भएको बताए । उनले पुस्तकालय कार्यालय समयमा मात्रै खुल्ने गरेको भन्दै २४ सै घण्टा सञ्चालन गरेर पुस्तकालयलाई विद्यार्थीमैत्री बनाउनुपर्ने बताए ।

यस्तै अर्का विद्यार्थी खगेन्द्र रिजालले पुस्तकालयले त्रिविमै अध्ययनरत विद्यार्थीबाट समेत अध्ययनका लागि बस्न शुल्क लिएको गुनासो गरे । उनले पुस्तकालयले बसेर अध्ययनका लागि शुल्क लिने निर्णयले आर्थिक रुपमा विपन्न विद्यार्थी मर्कामा परेको बताए ।

रिजालले कतिपय विद्यार्थीहरु कीर्तिपुरमा बसेर पढ्नका लागि जुम्ला, कालीकोट, मुगु लगायतका विकट जिल्लाहरुबाट पनि आउने गरेको भन्दै आर्थिक अवस्था कमजोर भएकालाई शुल्क तिर्न गाह्रो हुने बताए । उनले आफू पनि त्रिविमा अध्ययनरत विद्यार्थी भएको भन्दै पुस्तकालयले शुल्क लिँदा नरमाईलो लागेको बताए । उनले पुस्तकालयमा अध्ययनका क्रममा विद्यार्थीहरुबीच द्वन्द्व, विवादहरु नियमन गर्न शुल्क तोकेपनि आर्थिक रुपमा विपन्न भएका विद्यार्थीका लागि पुस्तकालयले निर्णय सच्याउनुपर्ने बताए ।

यता, त्रिवि केन्द्रिय क्याम्पसका स्ववियु सभापति श्यामराज ओझाले पुस्तकालयमा लोकसेवा, जापनिज भाषा पढ्नेहरुले हडपेर बस्ने अवस्था आएपछि व्यवस्थित गर्न पुस्तकालयमा अध्ययन गर्न शुल्क निर्धारण गरेको बताए । उनले झोला राखेर विद्यार्थीहरु बाहिर जाने र केन्द्रिय क्याम्पसका विद्यार्थीले पढ्न नपाउने स्थिति भएपछि विश्वविद्यालयले नियमन गरेको बताए ।

केन्द्रिय पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पुस्तकालयमा अध्ययनरत विद्यार्थीको रेकर्ड राख्न पनि नियमन गरिएको बताए । उनले विद्यार्थी सदस्यता कार्ड नहुँदा भद्रगोल भएका कारण नियमन र पहिचान गर्न सदस्यता कार्ड लागू गरिएको जानकारी दिए । उनले विश्वविद्यालय बाहिरबाट आउने व्यक्तिको सदस्यता कार्ड नहुँदा उनीहरुलाई नियमन र पहिचान गर्न सदस्यता कार्ड बनाइएको बताए ।


रवि धिताल