उपप्रधानमन्त्री श्रेष्ठ महोत्तरीमा, प्रशासन र सुरक्षा प्रमुखलाई सेवा चुस्त बनाउन निर्देशन



बर्दिबास । संघीय सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मधेस प्रदेशका सिडिओ, प्रशासनिक निकायका प्रतिनिधि तथा सुरक्षा निकायका प्रतिनिधिलाई शान्तिसुरक्षा एवं समसामयिक सेवा तथा वितरण चुस्त बनाउन निर्देशन दिएका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले मिटरब्याज (अनुचित लेनदेन) पीडितलाई आवश्यक समन्वय गरेर न्याय दिन पनि निर्देशन दिए ।

‘मिटरब्याजसम्बन्धी कानुन एकातिर छ, एकातिर आयोग छ, एकातिर तपाईंहरू हुनुहुन्छ । सकेसम्म अहिले नै आवश्यक समन्वय गरेर पीडितलाई न्याय दिनुहोस्,’ उनले भने ।

नेपाल-भारत सीमामा हुने सामान ओसारपसारमा राज्यलाई नोक्सान पुर्‍याउने वा अवैध ओसारपसार गर्ने कामलाई कडाइका साथ नियन्त्रण गर्न तर वास्तवमै जनताको दैनिक आवश्यकता र व्यापारिक उद्देश्य के हो त्यसलाई दुई पाटोबाट हेर्न उपप्रधानमन्त्री श्रेष्ठले निर्देशन दिए ।

‘दैनिक व्यावहारिक आवश्यकता टार्न सामान ल्याउने कुरामा लचक हुनुहोस् र व्यापारीक प्रयोजनमा ल्याएको भए कडाइ गर्नुहोस्,’ उनले भने । मलको हकमा पनि यहीँका किसानले आफ्नै प्रयोजनका लागि ल्याएको भए लचक हुन उनले निर्देशन दिएका छन् ।


क्लिकमान्डु