कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर



काठमाडौँ । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले थापाको नियुक्ति बदर गर्ने आदेश जारी गरेको हो ।

थापाले मुख्यमन्त्री पदमा दाबी गर्दा सभामुख बाबुराम गौतमको समेत समर्थन पेस गरेका थिए । सोही समर्थनका आधारमा प्रदेश प्रमुख परशुराम खापुङले असार २१ गते थापालाई मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।

तर, संविधानसम्मत नभएको भन्दै निवर्तमान मुख्यमन्त्री एवं नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चले मुख्यमन्त्री थापालाई बिहीबार पदमुक्त गर्ने आदेश दिएको हो ।

थापाको नियुक्ति बदर गरी संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभाको ठूलो दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्त गर्न उनको माग थियो ।

सर्वोच्चले कोशीमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा नयाँ सरकार बनाउन ७ दिनको समय दिएको छ । यसरी सरकार बन्न नसके संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सरकार बनाउन सकिने आदेश भएको छ ।


क्लिकमान्डु