गृहमन्त्रीको संलग्नताबिना विमानस्थलबाट सुन तस्करी हुन सक्दैनः एमाले नेता दाहाल



प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सय किलो सुन तस्करी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संलग्नताबिना हुन नसक्ने भन्दै गृहमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने माग राखेको छ ।

बिहीबारको राष्ट्रिय सभा बैठकमा नेकपा एमाले राष्ट्रिय सभाका दलका नेता देवेन्द्र दाहालले गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिने कुरा नभएकाले अब अनुसन्धानको घेरामा आउनुपर्ने बताए । गृहमन्त्री र अर्थमन्त्रीलाई जानकारी नभई यति ठूलो परिणामा सुन तस्करी हुनै नसक्ने उनको तर्क छ ।

उनले सिंगो विमानस्थलको सुरक्षा व्यवस्था कस्तो छ ? त्यसको जवाफ कसले दिने ? भन्दै प्रश्न गरे । सुरक्षा व्यवस्थामा खटिएका कर्मचारी, भन्सार कर्मचारी र गृहमन्त्री एवं अर्थमन्त्री अनुसन्धानको दायरामा आउनुपर्ने उनले दोहोर्‍याए ।

सुन तस्करी काण्डको जरैदेखि छानबिन गर्न उच्चस्तरीय संसदीय छानबिन समिति बनाउनुपर्ने र समितिमा राष्ट्रिय सभा सदस्यहरु पनि रहनुपर्ने उनको माग छ । दलका नेता दाहालले सुन तस्करीमा उच्च तहको नेतृत्व सामेल भए पनि अनुसन्धानको दायरामा ल्याउन नसक्नु दुखद भएको बताए ।


क्लिकमान्डु