मिटरब्याजसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित



काठमाडौं । राष्ट्रियसभाको आजको दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’ २०८० पारित गरेको छ । मिटरब्याज पीडितको समस्यालाई सम्बोधन गरी पीडकलाई कारवाही गर्ने प्रयोजनका लागि सो विधेयक ल्याइएको हो ।

अनुचित लेनदेन (मिटरब्याज) र घरसारमा हुने लेनदनेसम्बन्धी सो उक्त विधेयक प्रतिनिधिसभाबाट पारित भई संशोधन र सन्देशसहित प्राप्त भएकामा आज राष्ट्रियसभाले संशोधन स्वीकार गरी पुनःपारित गरेको हो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले सो विधेयकमाथि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । बैठकमा सो विधेयकमाथि छलफलमा भाग लिन कुनै पनि सदस्यले नाम नटिपाएपछि निर्णयार्थ प्रस्तुत गरिएको हो । अब सो विधेयक प्रमाणीकरणको प्रक्रियामा जानेछ ।

सभाको आजको पहिलो बैठकमा सचिव डा. सुरेन्द्र अर्यालले सो विधेयक टेबुल गरेका थिए । विधेयक राष्ट्रियसभामै उत्पत्ति र पारित भएको थियो भने प्रतिनिधिसभाले असार ३१ गते संशोधनसहित पारित गरेको थियो । सभाको अर्को बैठक साउन १८ गते बिहीबार अपराह्न १ बजे बस्नेछ ।


क्लिकमान्डु