निर्वाचन आयोगमा खर्च विवरण बुझाइसकेको छु, भ्रम सिर्जना नगरियोस्: विनोद चौधरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा अर्बपति व्यवसायी विनोद चौधरीले आफूले निर्वाचनमा भएको खर्च बुझाएको अवस्थामा पनि निर्वाचत आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सूचीमा नाम समावेश गरेकोमा ध्यानाकर्षण जनाएका छन् ।
सांसद चौधरीले सामाजिक सञ्जालमार्फत निर्वाचन आयोगको कदमप्रति आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् ।
उनले आफूले निर्वाचन सकिए लगत्तै पुस ४ गते नै आयोगमा खर्च विवरण बुझाएको उल्लेख गर्दै निर्वाचन आयोगले खर्च सार्वजनिक नगर्ने सांसदको सूचिमा आफ्नो नाम आएकोमा ध्यानाकर्षण भएको बताएका छन् ।
‘निर्वाचन आयोगले खर्च विवरण सार्वजनिक नगर्ने सांसदको सूचिमा मेरो पनि नाम उल्लेख गरेकोप्रति गम्भिर ध्यानाकर्षण भएको छ,’ चौधरीले लेखेका छन्, ‘मैले निर्वाचन सम्पन्न भए लगत्तै मिति २०७९ पुस ४ गते निर्वाचन आयोगमा खर्च विवरण बुझाएको हुँ, जसको दर्ता नम्बर १०९९ रहेको छ ।’
चौधरीले आयोगलाई आफ्नो नाम उक्त सूचिबाट हटाउन र सञ्चारमाध्यमहरुलाई सहि सूचना उपलब्ध गराउनका साथै यसअघि प्रकाशित समाचारले भ्रम सिर्जना भएको हुँदा त्यस्ता समाचार पनि सच्याउन आग्रहसमेत गरेका छन् ।