सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने राष्ट्र बैंकको नीतिले सेयर बजारमा उत्साह



काठमाडौं । सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन गर्ने राष्ट्र बैंकको नीतिले सेयर बजारमा उत्साह छाएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा राष्ट्र बैंकले सेयर धितो कर्जा, घरजग्गा र हायर पर्चेज कर्जाको विद्यमान जोखिमभारको व्यवस्था परिमार्जन गर्ने जनाएपछि सेयर बजारमा उत्साह छाएको हो ।

मैद्रिक नीतिमा के कति थपघट हुने भन्ने खुलाइएको छैन । लगानीकर्ताले ‘सेयर धितो कर्जाको जोखिम भार पुनरावलोकन’लाई घट्छ भन्ने अनुमान गरेपछि बजार सकारात्मक बनेको हो ।

मौद्रिक नीति सार्वजनिक भएपछि आयोजित पत्रकार सम्मेलनमा भने गभर्नर महाप्रसाद अधिकारीले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिमभार १५० बाट १०० प्रतिशतमा झार्ने बताए । राष्ट्र बैंकले सर्कुलर जारी गरेर बैंकहरुलाई यस विषयमा निर्देशन दिनेछ । अहिले सेयर धितो कर्जा दिएबापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था छ ।

आइतबार राष्ट्र बैंकले वेबसाइटबाट मौद्रिक नीति सार्वजनिक गरेको केहीबेरमै बजारमा उछाल आएको थियो । साढे १ देखि तीव्र गतिमा बढेको बजार २६ मिनेटमा १ बजेर ५६ मिनेट जाँदा थप ४३ अंकले उकालो लागेको थियो । त्यसपछि बजारमा केही उतारचढाव आएको थियो ।

आइतबार २१६६.४७ अंकबाट खुलेको बजार कारोबार बन्द हुँदा ६३.२४ अंकले बढेर २२२७.१६ अंकमा उक्लिएको छ । आज नेप्सेमा सूचीकृत सबै उपसमूह उकालो लागेका छन् ।

बैंक उपसमूह करिब ५ प्रतिशतले बढेको छ । विकास बैंक र व्यापार समूह ४ प्रतिशतभन्दा धेरैले बढ्दा जलविद्युत तथा पर्यटन र लगानी समूह ३ प्रतिशतभन्दा धेरैले बढेका छन् ।

किसान लघुवित्त र चन्द्रागिरि हिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै लिवर्टी इनर्जी, स्वरोजगार लघुवित्त, ग्लोबल आईएमई बैंक र कालिञ्चोक दर्शन लिमिटेडको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आइतबार २६६ कम्पनीको ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । यो गत साताको अन्तिम कारोबार हुने दिन बिहीबार भन्दा १ अर्ब ३९ करोडले बढी हो । बिहीबार २ अर्ब ९८ करोड रुपैयाँको सेयर कारोबार भएको थियो ।


क्लिकमान्डु