सेयरबजारबाट प्राप्त हुने पुँजीगत लाभकर ७१ प्रतिशतले घट्यो
काठमाडौं । सेयर बजारमा छाएको मन्दीको असर पुँजीगत लाभकरमा परेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा पुँजीगत लाभकर ७१.३० प्रतिशतले घटेको हो ।
गत आवमा सेयर बजारमा सुधार देखिएन । त्यसको असर पुँजीगत लाभकरमा परेको छ । बजार नबढ्दा लगानीकर्ताले पनि कमाएनन् ।
आव २०७८/७९ मा १० अर्ब ३५ करोड ३० लाख ५९ हजार ५१७ रुपैयाँ राज्यले सेयर बजारबाट पुँजीगत लाभकर पाएको थियो । आव २०७९/८० मा यो अंक ७१.३० प्रतिशतले घटेर २ अर्ब ९७ करोड ५ लाख ८९ हजार ३७ रुपैयाँ राज्यले पाएको छ ।
असार मसान्तसम्म सरकारले व्यक्तिगत अल्पकालीन लगानीकर्ताबाट ८४ करोड ३८ लाख ९४ हजार १३३ रुपैयाँ र दीर्घकालीन लगानीकर्ताबाट १ अर्ब २८ करोड ११ लाख ३६ हजार २९२ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । यस्तै संस्थागततर्फ १९ करोड ६५ लाख ८ हजार ९२५ रुपैयाँ पुँजीगत लाभकर संकलन गरेको छ ।
सरकारले अघिल्लो आवमा अल्पकालीन लगानीकर्ताबाट २ अर्ब ३६ करोड ६१ लाख २१ हजार ८४३ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । यस्तै दीर्घकालीन लगानीकर्ताबाट ६ अर्ब ४९ करोड ६५ लाख १८ हजार ७९८ रुपैयाँ पुँजीगत लाभकर पाएको छ । यस्तै संस्थागततर्फबाट १ अर्ब २६ करोड ४४ लाख २८ हजार ७२१ रुपैयाँ पुँजीगत लाभकर पाएको छ ।