राष्ट्रपति पाउने भएपछि एमालेसँगको गठबन्धनमा रहेका प्रचण्डलाई विश्वासका मत दिएका थियौं: खड्का



काठमाडौं । नेपाली कांग्रेसका उपसभापतिसमेत रहेका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएबापत नेपाली कांग्रेसले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गरेका छन् ।

मंगलबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उपप्रधानमन्त्री खड्काले कांग्रेसले राष्ट्रपति पाउने शर्तमा प्रधानमन्त्री दाहाललाई पुस २६ गते विश्वासको मत दिएको बताए ।

एमाले–माओवादी केन्द्र लगायतका दलहरुको गठबन्धनमा प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्री दाहाललाई प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पनि विश्वासको मत दिएको थियो ।

विश्वासको मत दिनुपर्नाको कारण खुलाउँदै उपप्रधानमन्त्री खड्काले सो कुरा बताएका हुन् । उनले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रधानमन्त्री दाहालले राष्ट्रपति कांग्रेसलाई दिने प्रतिवद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको स्पष्ट पारे ।

कांग्रेसले विश्वासको मत दिएसँगै आफूहरुबीचको गठबन्धन पुनःस्थापित हुने वातावरण बनेको र अहिले कांग्रेस सरकारमा पुगेको उल्लेख गरे ।

‘पुस २६ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वलाई उहाँलाई विश्वासको मत दिने निर्णयमा पुग्यौँ । त्यही विश्वासको मत दिने विश्वासको वातावरण जुन बनाइएको थियो । आज मैले भन्नुपर्छ, त्यो विश्वासको मत हामीले दिएपछि राष्ट्रपतिको निर्वाचनमा एउटा वातावरण बनाएर नेपाली काँग्रेसको उम्मेदवारको पक्षमा फर्कने वातावरण बनाउनका लागि वर्तमान प्रधानमन्त्री प्रचण्डले प्रतिवद्धता व्यक्त गर्नुभएको थियो एउटा तहमा’ उनले भने ।

उपप्रधानमन्त्री खड्काले सरकारले जनतालाई उत्साहित र प्रेरित गर्नेखालको काम गर्नुपर्नेमा जोड दिए ।

जनताको अपेक्षा पनि पार्टीले सरकारमा गएर राम्रो काम गरोस् भन्ने रहेको भन्दै आफूहरुले हालसम्म कुनै गल्ती र कमजोरी नगरेको उनले बताए ।


क्लिकमान्डु