असार २९ गते लक्ष्मी र सनराइजको एकीकृत कारोबार, २७ र २८ गते दुवै बैंकका देशभरका शाखा बन्द



काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंकको एकीकृत कारोबार असार २९ देखि हुने भएको छ । मर्जर प्रक्रिया सकेर असार २९ गतेदेखि एकीकृत कारोबार सुरु गर्न लागेका लक्ष्मी र सनराइज बैंकले २७ र २८ गते सबै शाखा बन्द गर्ने भएका छन् ।

एकीकृत कारोबार गर्न डाटा इन्टिग्रेसनलगायत प्रयोजनका लागि सबै शाखा बन्द गर्नुपरेको हो । दुवै बैंकद्वारा जारी संयुक्त सूचनामा क्रेडिट कार्ड सेवाबाहेक सम्पूर्ण वित्तीय सेवा पनि बन्द रहने उल्लेख छ ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय काठमाडौंको हात्तीसारमा रहनेछ ।

दुवै बैंकले २०८० जेठ ८ गते भएको मर्जरका लागि अन्तिम सम्झौता गरेका थिए । असार ३ गते दुवै बैंकको साधारणसभाबाट पारित विशेष प्रस्तावबमोजिम नेपाल राष्ट्र बैंकले असार २२ गते अन्तिम स्वीकृति दिएको थियो ।

मर्जरपछि बैंकको चुक्ता पुँजी २१ अर्ब ६७ करोड पुग्नेछ भने जगेडा कोष १२ अर्ब ८२ करोडको हुनेछ । त्यस्तै निक्षेप २ खर्ब ८१ अर्ब र कर्जा प्रवाह २ खर्ब ५० अर्ब नाघ्नेछ । त्यस्तै बैंकमा कर्मचारीको संख्या २ हजार १७० पुग्नेछ ।


क्लिकमान्डु