प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो: प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनअघिको आफ्नो अभिव्यक्तिप्रति गल्ती महसुस गर्दै त्यो आफ्नो भावनात्मक अभिव्यक्ति भएको प्रष्टीकरण दिएका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा आफ्नो अभिव्यक्तिबारे स्पष्टीकरण दिँदै प्रधानमन्त्री दाहालले आफू भावनामा आएको र ज्ञानुको बुवा भएर बोलेको तर्क गरे ।
‘म थोरै भावनामा आएँ । मनमा आयो भनेँ । त्यसैले त प्रचण्ड हो,त के गर्नुहुन्छ ?’प्रधानमन्त्री दाहालले भने,’प्रधानमन्त्रीको रूपमा मैले त्यो भाषा बोल्नुहुन्नथ्यो । त्यो दिन म ज्ञानुको बुवा भएर बोलेको थिएँ ।’ उनले आफ्नो भावनात्मक शैली रहेको र यो आफ्नो कमजोरी रहेको महसुस आफूले गरेको उनले बताए ।
प्रधानमन्त्री दाहालले केही दिन अघि सरदार प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउन सिंह केही पटक दिल्ली धाएको बताएका थिए ।
उनको यस्तो भनाइ सार्वजनिक भएपछि राजनीति तरंगित भएको थियो । उनको धारणाप्रति आपत्ति जनाउँदै प्रतिपक्षी दलहरूले संसद् अवरोध गरेका थिए भने प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामा माग गरेको थियो । तीन दलका बीचमा सहमति जुटेसँगै प्रधानमन्त्रीले अभिव्यक्तिमाथि माफी माग्ने सहमति जुटेको थियो र सदन सञ्चालनमा आएको थियो ।