मोतिलाल दुगड सञ्चालकबाट हटेपछि राष्ट्र बैंकबाट लक्ष्मी सनराइजले पायो एकीकृत कारोबारको अनुमति
काठमाडौं । नेपाल राष्ट्र बैंकले लक्ष्मी र सनराइज बैंकलाई आपसमा गाबिएर एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति दिएको छ।
राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएसँगै लक्ष्मी सनराइज बैंकको नामबाट आगामी बिहीबारबाट एकीकृत कारोबार सुरु गर्ने तयारी गरिएको छ ।
सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडको नाम नयाँ बनेको सञ्चालक समितिबाट हटाएपछि राष्ट्र बैंकले लक्ष्मी सनराइज बैंकलाई एकीकृत कारोबार गर्न अन्तिम स्वीकृत दिएको हो ।
दुगडले लक्ष्मी बैंकबाट करिब ३ अर्ब रुपैयाँ कर्जा लिएकाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनअनुसार सञ्चालक बन्न नमिल्ने भन्दै राष्ट्र बैंकले अन्तिम स्वीकृति दिन समय लगाएको थियो ।
दुगडको नाम हटाउँदै सनराइजले नयाँ नाम प्रस्ताव गरेसँगै राष्ट्र बैंकले गाबिन अन्तिम स्वीकृत दिएको हो ।
नयाँ बन्ने सञ्चालक समितिमा लक्ष्मीबाट रमन नेपाल, मनिस थापा र स्वाति रुगटा छन् भने सनराइजबाट बच्चराज टेडार र मालचन्द्र दुगड छन् ।
मोतिलालको ठाउँमा सनराइजले प्रस्ताव गरेको नाम खुल्न सकेको छैन । लक्ष्मी सनराइजको सञ्चालक समितिमा विद्या बस्याल स्वतन्त्र सञ्चालक छिन् । आपसमा गाबिएर बनेको लक्ष्मी सनराइजमा हाल लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय बिक्रम शाहले निरन्तरता पाउने छन् ।
०७९ पुस २५ गते लक्ष्मी र सनराइज बैंकबीच १ बराबर १ को बराबरी हैसियतको सेयर आदानप्रदान रेसियोमा आपसमा गाभिने सैद्दान्तिक समझदारी भएको थियो । गाभिने सम्झौतापत्रमा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले हस्ताक्षर गरेका थिए ।
असार ३ गते दुबै बैंकको साधारणसभाले लक्ष्मी बैंक र सनराइज बैंकबीच १ बराबर १ को स्वाप रेसियो अनुपातमा मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।