बैंकका सीइओहरुसँग ‘गुड फ्राइडे’ मनाउँदै गृहमन्त्री श्रेष्ठ, निजी निवासमा ‘रात्रीभोज’का लागि बोलाए



काठमाडौं। गृहमन्त्री नारायणकाजी श्रेष्ठले सबै वाणिज्य बैंकका सीइओहरुसँग गुड फ्राइडे मनाउने भएका छन् । त्यसका लागि गृहमन्त्री श्रेष्ठले आज (शुक्रबार) साँझ ७ बजे निजी निवासमा सबै बैंकका सीइओहरुलाई रात्रिभोजमा निम्ता गरेका छन् ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा देखिएको चुनौतिका विषयमा अनौपचारिकरुपमा जानकारी लिने र सरकार छ है भनेर ढाडस दिने उदेश्यले बैंकरहरुलाई रात्रिभोजमा बोलाइएको उनको निजी सचिवालयले जनाएको छ ।

पछिल्लो समय ऋणीहरुले असूलीमा गएका बैंकका कर्मचारीलाई धम्क्याउने, आक्रामण गर्ने जस्ता घटना बढेपछि गृहमन्त्रीले सीइओहरुसाग डिनर मिटिङको आयोजना गरेका हुन् ।

‘बैंक विरुद्धका गतिविधिले बैंकहरुलाई कस्तो असर परेको छ र सरकारले कसरी शान्तिसुरक्षाको प्रत्याभूति गराउन सक्छ लगायतका विषयमा गृहमन्त्रीज्यूले सीइओहरुसँग अनौपचारिकरुपमा जानकारी लिनुहुनेछ र उहाँहरुको सुझाव लिएर पूर्ण शान्तिसुरक्षाको प्रत्याभूति दिलाउने प्रतिवद्धता जनाउनुहुन्छ ,’ श्रेष्ठको निजी सचिवालयमा कार्यरत एक कर्मचारीले भने ।

मन्त्रालयमा बोलाउँदा छलफल औपचारिक हुने भएकाले गृहमन्त्री श्रेष्ठले अनौपचारिक छलफल गरेर वास्तविकता बुझ्न निजी निवासमा बोलाएका हुन् ।

‘बैंक विरुद्धका अराजक गतिविधिले हतोत्साही भएका बैंकरहरुलाई ऊर्जा दिलाउन गृहमन्त्रीले यो रात्रिभोजको आयोजना गर्नुभएको हो,’ स्रोतले भन्यो, ‘बैंकको ऋण खाएर तिर्दिन भन्दै हिँड्नेहरुका लागि राज्य बैंकहरुसँगै छ भन्ने प्रष्ट सन्देश पनि हो ।’


क्लिकमान्डु