कुमारी बैंकविरुद्ध दुर्गा प्रसाईंको मुद्दा हेर्न नभ्याइने, मंगलबारलाई पेसी
काठमाडौं । बैंकले ऋण तिर्न पठाएको पत्रको कार्यान्वयन नगर्न माग गर्दै अदालत पुगेका व्यवसायी दुर्गा प्रसाईंको रिटका लागि मंगलबार पेसी तोकिएको छ ।
बुधबार अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई बोलाएको अदालतले आगामी मंगलबारको लागि पेसी तोकेको हो ।
न्यायाधीश लोहितचन्द्र शाह र सोमकान्त मैनालीको संयुक्त इजलासमा पेसी चढेपनि प्रसाईंको मुद्दा हेर्न नभ्याइने हुँदै मंगलबारका लागि पेसीमा चढेको हो ।
बैंकले ऋण तिर्न पत्र पठाएपछि त्यसविरुद्ध अन्तरिम आदेशको माग गर्दै व्यवसायी प्रसाईं अदालत पुगेका थिए । कुमारी बैंकले प्रसाईंको बी एण्ड सी मेडिकल कलेजको नाममा रहेको ७० करोड र पूर्वाञ्चल क्यान्सर अस्पतालका नाममा रहेको ३० करोड गरी १ अर्ब रुपैयाँ ऋण तत्काल नतिरे असूलीको प्रक्रियामा जाने ताकेता पत्र पठाएपछि प्रसाईं बैंकको उक्त पत्र कार्यान्वयन नगर्न/नगराउन माग गर्दै उच्च अदालत विराटनगर पुगेका थिए ।
उच्च अदालत विराटनगरको इलाम इजालशले असार ११ गते कुमारी बैंकका नाममा १५ दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको थियो भने । अन्तरिम आदेश दिनु पर्ने वा नपर्ने भन्ने विषयमा छलफलका लागि दुबै पक्षलाई आजको लागि बोलाइएको थियो ।
कुमारी बैंकले २०८० वैशाख १ गते ऋण तिर्न ताकेता गर्दै पठाएको पत्र कार्यान्वयन भएमा धितोहरु समेत लिलाममा गइ कालोसूचीमा समावेश गर्ने प्रवल सम्भावना रहेको र उपकरण अभावमा सेवा संचालन गर्न समेत वाधा अवरोध हुने हुँदा उक्त पत्र तत्काल कार्यान्वयन नगर्नु/नगराउनु भनी प्रसाईंका तर्फबाट अन्तरिम आदेशको माग गर्दै रिट दायर भएको थियो ।