सामाजिक सञ्जालमा गाली गरेर देशको राजनीतिक कोर्षलाई दायाँबायाँ गर्न खोजियो: प्रधानमन्त्री



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्ति देखापरेको बताएका छन् ।

सोमवार स्व. गिरिजाप्रसाद कोइरालाको १०० औं जन्मजयन्तीको अवसरमा काठमाडौंमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको परिवर्तनमा अहिले विचारको आवश्यकता देखिएको बताए ।

सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने प्रवृत्तिलाई रोक्न जरुरी रहेको उनको भनाइ छ ।

‘आम नेपाली जनताको मेहनत र बलमा प्राप्त भएको यो परिवर्तन अहिले विचारको आवश्यकता पनि महशुस नगर्ने, सिद्धान्त र राजनीतिक एजेण्डामा केन्द्रित पनि हुन नपर्ने, सामाजिक सञ्जालमा गाली गरेकै भरमा देशको राजनीतिक कोर्षलाई नै दायाँबायाँ गर्न खोज्ने जो प्रवृत्ति देखिएको छ’ उनले भने ।

नयाँ इच्छाशक्तिसहित राष्ट्र र जनताको जीवन बदल्ने पहल नगर्ने हो भने देश दुर्घटनामा जाने प्रधानमन्त्रीले बताए ।

नयाँ पार्टीहरुप्रति लक्षित गर्दै पुराना पार्टीहरुको भन्दा राम्रो विचार लिएर आउने, राम्रो एजेण्डासहित जनताको जीवनमा परिवर्तन ल्याउने विश्वासका साथ कोही आउने हो भने उनीहरुलाई सम्मान गर्न र ठाउँ छोड्न गाह्रो नभएको प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बताए ।

तर अहिलेको परिस्थितिमा त्यस्ता पार्टी र राजनीतिक दलहरु नरहेको बताए । अहिले देखिएको अराजकताप्रति हेलचेक्र्याँई गर्ने हो भने देशकै भविष्य दुर्घटनामा पर्ने उनले बताए । प्रधानमन्त्री दाहालले सुशासन, समृद्धि, सामाजिक न्यायको पक्षमा एउटा अर्को शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको बताए ।


क्लिकमान्डु