भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानले लोकतन्त्रको सर्वोच्चता स्थापित: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नक्कली भुटानी शरणार्थी काण्डको सफल अनुसन्धानबाट सरकारले कानुनको सर्वोच्चतामात्र प्रमाणित नगरेको, लोकतन्त्रको सर्वोच्चता पनि स्थापित गरेको बताएका छन् ।
प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधन गर्दै उनले भने, ‘ उच्च पदस्थहरू र देशको एउटा वर्ग कानुनभन्दा माथि छ भन्ने निराशावादी मान्यता गलत प्रमाणित भएको छ। यो काण्डको सफल अनुसन्धानसँगै अब लोकतन्त्रको सर्भिसिङ र शुद्धीकरण सुरु भएको छ ।’
प्रधानमन्त्रीले यसलाई शुद्धीकरणको संज्ञा दिँदै अब यो क्रम नरोकिने संसद र आमजनसमुदायलाई विश्वास दिलाए । उनले हिजोबाट प्रधानमन्त्री निवास नै निल्न खोज्ने ललिता निवास काण्डका अभियुक्तहरू पक्राउ पर्न थालेको र मिटरब्याजी र सहकारीका ठगहरूमाथि कारबाही सुरु भइसकेको पनि बताए ।
वर्षौंदेखिको विकृतिको डंगुर सफा गर्ने सुशासनको यो लडाइँमा संसद र जनताको अझ धेरै समर्थन चाहिएको प्रधानमन्त्रीको भनाइ छ । ‘बेथितिको दुष्चक्र नभत्काएसम्म न देश अघि बढ्नेछ, न लोकतन्त्र । म संकल्प गर्छु, कुनै पनि मूल्यमा विकृतिको यो डंगुर भत्काइछाडिनेछ । लोकतन्त्रसँग आफ्ना विकृति सच्याउने सामर्थ्य छ र सरकार त्यो दिशामा क्रियाशील छ, ’ उनले भने ।