बैंक वित्तीय संस्थाका कर्मचारीमाथि दुर्व्यवहार नरोकिए कडा कदम चाल्ने चेतावनी



काठमाडौं । बैंक तथा वित्तीय संस्थाका छाता संगठनहरुले आफ्ना कर्मचारीको सुरक्षाका लागि गम्भीर बन्न सरकारलाई फेरि अपिल गरेका छन् ।

कोशी प्रदेशका सुनसरीको इटहरी र झापाको बिर्तामोडका केही बैंक वित्तीय संस्था एवं लघुवित्त संस्थाका शाखामा केही व्यक्तिले अवरोध गरेको, कर्मचारीलाई धम्क्याएको र ग्राहकलाई बैंकिङ सेवा लिन वञ्चित गरेकोमा घोर निन्दा गर्दै उनीहरुले त्यस्ता गतिविधि हुन नदिन अपिल गरेका हुन् ।

सुरक्षा निकायले यथाशीघ्र आवश्यक कदम लिई शाखा सञ्चालन गर्न तथा कर्मचारी र ग्राहकको सुरक्षाको प्रबन्ध मिलाउन नेपाल बैंकर्स संघ, डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघले माग गरेका छन् ।

ऋण लिएपछि तिर्नुपर्छ भन्ने सामान्य सिद्धान्त सबैले बुझ्नुपर्ने र ऋण नतिर्ने बहानामा यसप्रकारका अराजक गतिविधि गर्नेहरुलाई तुरुन्तै कारबाहीको दायरामा ल्याई शान्तिसुरक्षा कायम गर्न पनि चारै संगठनले सरोकारवाला सबै निकायसँग अनुरोध गरेका छन् ।

आगामी दिनमा यसप्रकारका कुनै पनि गतिविधि भए सशक्त रुपमा प्रस्तुत हुने जारी विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा अर्थतन्त्रको प्रमुख स्तम्भको रुपमा स्थापित बैंक, वित्तीय तथा लघुवित्त संस्थाहरुले मुलुकको विकास, आम सर्वसाधारणलाई प्रदान गर्ने सेवा-सुविधा, आर्थिक वृद्धिमा खेलेको भूमिका, रोजगारी सिर्जनालगायत प्रत्यक्ष-अप्रत्यक्ष रुपमा दिएको योगदानको स्मरण गराइएको छ ।

त्यस्तै ‘भूकम्पपछिको समय होस् वा कोभिडको महामारी, कुनै पनि विषम परिस्थितिमा समेत आफ्नो ज्यानको पर्वाह नगरी बैंक, वित्तीय तथा लघुवित्त क्षेत्रका कर्मचारीहरु अहोरात्र ग्राहकलाई सेवा दिन खटिएको व्यहोरा स्मरण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ ।

मुलुकले समेत अत्यावश्यक सेवाको रुपमा पहिचान गरेको बैंकिङ क्षेत्र निर्वाध सञ्चालन गर्न र सेवा पुर्‍याउन कुनै पनि तत्वले बाधा पुर्‍याएको खण्डमा गैरकानुनी हुने स्पष्ट पार्दै चारवटै संगठनले आगामी दिनमा त्यस्ता गतिविधि गर्नेविरुद्ध सुरक्षा निकायले आवश्यक कदम चाल्ने विश्वास लिएका छन् ।

यसअघि पनि बैंकका कर्मचारीमाथि अभद्र व्यवहार भएपछि चारवटै संगठनले संयुक्त विज्ञप्ति निकालेर विरोध जनाएका थिए ।


क्लिकमान्डु