समस्याको समाधान खोज्दा सुरु भएको ‘स्मार्ट पानी’, जसले तपाईंलाई खुवाउँछ शुद्ध पानी



काठमाडौं । काठमाडौंमा बस्नेमध्ये कमैले पानीको समस्या नभोगेका होलान् । बहालमा बस्ने होउन् या आफ्नै घरमा, पिउने पानीलाई लिएर समस्या जहाँ-तहाँ व्याप्त छ । पिउने पानीको समस्या जस्तै झरी पर्दा सडक खोला बन्ने समस्या पनि धेरैले भोग्नु र देख्नुपरेको छ ।

पानीलाई लिएर हुने अनेक समस्यामध्ये एक समस्या सुमन शाक्यले पनि भोगेका थिए । घरमा पानीको समस्या थियो । ट्यांकरका ट्याकंर पानी किन्नुपर्ने बाध्यता थियो । त्यसबेला उनले यसको विकल्प के छ भनेर खोज्न थाले । विकल्पको खोजीकै क्रममा उनको भेट टाइलर म्याकमोहनसँग भेट भयो । उनी संयुक्त राष्ट्र संघअन्तर्गतको एक संस्थामा काम गर्न नेपालमा आएका थिए । म्याकमोहनले पानीका विषयमा अनुसन्धान गर्दै उपायको खोजी गरिरहेका थिए ।

सुमनसँग समस्या थियो । समस्यालाई समाधान गर्नुपर्छ भन्ने हुटहुटि थियो । म्याकमोहनले यही समस्याको समाधान खोजिरहेका थिए । उनले ‘रेन वाटर हार्भेस्टिङ’ सोचलाई सुमनसँग साझा गरेका थिए ।

‘एक जना पीडित र एक जनासँग समाधान भएपछि गरेर हेरौं न त भन्ने भयो,’ हाल स्मार्ट पानीमा महाप्रबन्धकको रुपमा रहेकी ज्योत्सना खड्का भन्छिन्, ‘काठमाडौंमा पनि पानीको एकदमै अभाव थियो । झरीको पानीलाई प्रयोग गरेर हार्भेस्ट गर्नुपर्छ भन्ने सोचसँगै यसको सुरुवात भयो ।’

यो सबै भएको थियो सन् २०१३ मा । पहिलो पटक स्मार्ट पानीको सिस्टम जडान पनि सहसंस्थापक सुमन शाक्यकै घरमा गरिएको थियो ।

स्मार्ट पानीको सुरुवात भएको १० वर्ष बित्दा हालसम्म ४ हजार वटा स्मार्ट सिस्टम जडान भएका छन् । ४६० स्कुलहरुमा ७८ हजार ६ सय विद्यार्थीले शुद्ध पानीको सुविधा पाएका छन् । कम्पनीमा २० जना कार्यरत रहेको खड्का बताउँछिन् ।

खड्का स्मार्ट पानी एउटा सामाजिक उद्यम भएको बताउँछिन्, जहाँ आफूहरुले दिगो रुपमा पानीको व्यवस्थापनका उपाय प्रदान गर्ने उनको जिकिर छ । उनी भन्छिन्, ‘हाम्रो आफ्नै फिल्टरेसन प्रणाली छ । रेन वाटर हार्भेस्टिङ, ग्रे वाटर ट्रिटमेन्ट, ग्राउन्ड वाटर ट्रिटमेन्टजस्ता सुविधा हामी प्रदान गर्छौं ।’

स्मार्ट पानीले विभिन्न स्रोतबाट प्राप्त हुने पानी फिल्टर गर्न आफ्नै प्रणाली बनाउँछ । पञ्चकन्या स्टिल्सको ट्यांकीमा यो प्रणाली निर्माण गरिने बताउँछिन् खड्का । स्मार्ट पानीकै ललितपुरस्थित कार्यालयमा प्रणालीलाई सेटअप गरेर राखिएको ठाउँमा त्यसलाई लगिने उनले बताइन् ।

‘काठमाडौंमा जुन पानीको वितरणको अवस्था छ, यो पर्याप्त छैन,’ उनी भन्छिन्, ‘अहिले मेलम्ची आएको भनिन्छ तर पनि पुग्दैन । यस्तोमा अकासे पानी यत्तिकै बगेर गइरहेको छ । राम्रो ढलको प्रणाली छैन । यसले गर्दा बाढीको समस्या आउँछ । यी सबै कुरालाई समाधान गर्ने काम स्मार्ट पानीले गर्छ ।’

आकाशबाट पर्ने पानीलाई फिल्टर गरेर चलाउने प्रणाली स्मार्ट पानीको छ । झरीको पानीलाई नै पिउनयोग्य बनाउने गरी हार्भेस्ट गरिने खड्का बताउँछिन् । झरीको पानीजस्तै अन्य स्रोतको पानीलाई पनि फिल्टरेसन गरिने प्रणालीको विकास गरिएको छ ।

‘हाम्रो मुख्य उद्देश्य भनेको सबैले स्वस्थ पानी पिउन पाउनुपर्छ भन्ने हो,’ उनी भन्छिन्, ‘ठूलो प्रविधिदेखि ट्यांकर होस् वा कोठा भाडामा बस्ने होस्, जोसुकैले स्वस्थ पानी पिउन पाउनुपर्छ । हामीसँग र्‍यापिड स्यान्ड फिल्टरदेखि कोठामा राख्न मिल्ने सानो ‘तृप्ति’ नामको फिल्टर पनि छ ।’

‘स्मार्ट पानी’ अन्तर्गत विभिन्न स्रोतबाट प्राप्त हुने पानीलाई फिल्टर गर्ने प्रणाली छन् । झरीमा पर्ने पानीलाई ‘रेनवाटर हार्भेस्टिङ’ प्रणालीबाट फिल्टर गरिन्छ । छतमा पर्ने पानीलाई पाइपको माध्यमबाट जम्मा गरिन्छ । त्यसपछि पानीलाई स्मार्ट पानीको आफ्नै ‘र्‍यापिड स्यान्ड फिल्टर’ नामको प्रणालीबाट फिल्टर गरिन्छ । खड्का भन्छिन्, ‘र्‍यापिड स्यान्ड फिल्टरले तुरुन्तै पानीलाई फिल्टर गरिदिन्छ । पानीलाई फिल्टर गर्नेभित्रको मिडियम भनेको बालुवा हुन्छ । यसरी फिल्टर भएको पानीलाई स्टोरेज ट्यांकमा हालिन्छ ।’

फिल्टरपछि जम्मा भएको पानीलाई जहिले पनि प्रयोग गर्न सकिने उनी बताउँछिन् । ग्राउन्ड वाटर अर्थात् जमिनमुनिको पानीको हकमा अर्को प्रणाली छ । यसका लागि बायो स्यान्ड फिल्टरको प्रयोग गरिन्छ । जमिनमुनिबाट प्राप्त हुने पानीमा ब्याक्टेरिया र अन्य खनिज हुने भएकाले यसलाई बायो स्यान्ड फिल्टरबाट फिल्टर गरिने उनले बताइन् ।

‘अहिले हामीले स्मार्ट पानीको प्रणालीलाई घरदेखि स्कुल, कलेजदेखि अस्पतालहरु सबैतिर जडान गरेका छौं,’ उनी भन्छिन्, ‘ज-जसलाई पानीको समस्या हुन्छ, हामीले उहाँहरुसँग काम गरेका छौं ।’

आफूहरुले स्कुलमा सहकार्य गरेर पनि काम गरिरहेको उनी बताउँछिन् । बालबालिका भोलिको भविष्य भएकाले उनीहरुलाई शुद्ध पिउने पानी उपलब्ध गराउनुपर्छ भन्ने सोचसहित काम गरिरहेको छ स्मार्ट पानीले । खड्का भन्छिन्, ‘कतिपय ठाउँमा शुद्ध पानी दिनै सकिएको छैन । यस्तोमा हामी स्कुल र स्थानीय सरकारसँग मिलेर काम गरेर ‘फिल्टर प्लस वास’ भन्ने प्याकेजमै काम गरेका छौं ।’

उनीहरुले ३२ जिल्लाका ४५० स्कुलमा यो प्रणाली जडान गरिसकेका छन् । त्यस्तै, काठमाडौंभित्र बढी मात्रामा रेनवाटर हार्भेस्टिङ र इनारको पानी फिल्टर गर्ने प्रणाली रहेको उनले बताइन् । काठमाडौंबाहिर भने अन्डरग्राउन्ड वाटर अर्थात् जमिनमुनिको पानीलाई फिल्टर गर्ने प्रणाली रहेको खड्का बताउँछिन् ।

‘स्मार्ट पानी’को ‘रेनवाटर हार्भेस्टिङ प्रणाली’ राख्नका लागि कति रकम लाग्छ त ? खड्काका अनुसार तीन वा साढे तीन आना जमिनमा बन्ने घरमा यो प्रणाली जडान गर्दा १ हजार स्क्वायर फुटजतिको ठाउँ झरीको पानी संकलन गर्ने हुन्छ । प्रणालीलाई पूर्णरुपमा जडान गरेर सिस्टम राख्दा १ लाख हाराहारी खर्च हुने उनले बताइन् । ‘रेन वाटर हार्भेस्टिङ प्रणाली जडान गर्न बन्दै गरेको घरमा खर्च कम आउँछ । नयाँ घर बनाउँदा धेरै कुरा तत्कालै राख्न सकिन्छ,’ उनले भनिन्, ‘बनिसकेको पुरानो घरमा पानीको ड्रेनदेखि पाइपको कुरासम्म मिक्स भएको हुन्छ । यसमा खर्च केही बढी हुन्छ तर राख्न सकिन्छ ।’

नयाँ घर बनाउँदा र नयाँ संरचना बनाउँदा झरीको पानीलाई के गर्ने भनेर सरसल्लाह लिन आउनेहरु रहेको उनले बताएकी छन् । यस्तो अवस्थामा स्मार्ट पानीले कम्प्लिमेन्ट्री फिल्ड भिजिट गरिदिने गरेको उनले बताइन् ।

शुद्ध पिउने पानी फिल्टर गर्ने मात्रै नभएर स्मार्ट पानीको प्रणालीले जमिनमुनि रित्तिँदै गएको पानीलाई पनि पुन: रिचार्ज गर्नेसमेत गर्ने गरेको छ । झरी पर्दा धेरै भएर ढलमा फ्याँकिने पानी वा बाढीको रुपमा बग्ने पानीलाई पनि व्यवस्थित गराएर ग्राउन्ड वाटरलाई रिचार्ज गर्ने गरिएको खड्का बताउँछिन् ।

‘ग्राउन्ड वाटरलाई रिचार्ज गर्ने काम पनि हामी गरिदिन्छौं,’ उनी भन्छिन्, ‘पानी धेरै पर्दा संकलन भएर फिल्टर भएको पानी फ्याँक्नेभन्दा त्यसलाई इनारमा हाल्ने प्रणाली विकास गरिदिन्छौं । त्यसले गर्दा जमिनमुनिको पानी पनि रिचार्ज हुन्छ । यसले पहिले सुकेका ठाउँहरुमा पनि पानी फेरि आउन थालेको देखेका छौं ।’

घर वा होटलमा जस्तै कोठामा बस्नेहरुका लागि पनि शुद्ध पानी पिउन स्मार्ट पानीले आफ्नो प्रणाली विकास गरेको छ । ‘तृप्ति’ नामको क्यान्डल फिल्टरको सहायताले कोठामै पनि स्मार्ट पानी जडान गर्न सकिन्छ । खड्काका अनुसार यो क्यान्डल फिल्टरलाई १८ सय रुपैयाँ पर्छ भने त्यसलाई पानी राख्ने प्लास्टिकको भाडाको सेटसँग गर्दा २५ सय रुपैयाँ पर्छ ।

‘स्मार्ट पानी’ जडानको विषय हेर्दा धेरैले सुरुवातमा महँगो भयो भन्ने पनि सोच्छन् । एकैपटकमा धेरै लगानी हुने भएकाले बर्सेनि निश्चित खर्च गरेर फिल्टर किन्ने विकल्प छान्छन् । यस्तोमा स्मार्ट पानीको टिमले भने यो लगानी भएको र यसले वर्षौंसम्म साथ दिने कुरा बुझाउँछन् ।

‘यो भनेको एउटा लगानी हो,’ खड्का भन्छिन्, ‘यो एक पटक खर्च गरेपछि यो धेरै समयसम्म रहन्छ । यसको मर्मतसम्भारको खर्च निकै कम छ । अरु प्रणालीमा जस्तो फिल्टर गर्ने सामान फेर्नेजस्ता कुराहरुको समस्या हुँदैन । घरमै बसेर पनि गर्न सकिन्छ । हामी आर्थिक पाटोबाट बुझाउँदै गएर कन्भिन्स गराउँछौं ।’

स्मार्ट पानीको सिस्टम जडान भएका घरहरुमा १० वर्षदेखि चलिरहेको छ । खड्काका अनुसार नियमित मर्मत गरिरहँदा निरन्तर चल्छ ।


युवराज भट्टराई