ओलीप्रति लक्षित गर्दै उपेन्द्र यादवले भने: समाजवादी मोर्चाबाट तर्सिएर बर्बराउँनु पर्दैन



काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले एमाले अध्यक्ष केपी ओलीलाई समाजवादी मोर्चादेखि नतर्सिन आग्रह गरेका छन् ।

ओलीप्रति संकेत गर्दै उनले केही दिनदेखि मिडियामा बरबराउन थालेको भन्दै मोर्चासँग तर्सिन नपर्ने बताए ।

‘यो कसैको विरुद्धमा लक्षित छैन । त्यसकारणले कोही नतर्सिए हुन्छ । धेरै मान्छेहरु अहिलेनै केही साथीहरु यसो घोषणा हुनु भन्दा अगाडि नै बरबराउन थाल्नु भएको थियो । मिडियाहरु बरबराएको पढ्न, सुन्न पाईयो । त्यस्तो नबर्बराउँदा हुन्छ । हामी देशको जनताको हितका लागि, मुलुकको अग्रगामी परिवर्तनका लागि सहकार्य, परस्पर सहयोगको आधारमा अगाडि बढछौं’ उनले भने ।

सोमबार काठमाडौंको राष्ट्रियसभा गृहमा आयोजित ‘समाजवादी मोर्चा, नेपाल’ घोषणा कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मोर्चा कसैका विरुद्ध लक्षित नरहेको बताए ।

परिवर्तनका मुद्दालाई अगाडि बढाउने, राष्ट्र निर्माणलाई अगाडि बढाउने र मुलुकमा देखा परेका समस्यालाई हल गर्दै अगाडि बढनका लागि मोर्चा गठन गरिएको उनको तर्क थियो । अध्यक्ष यादवले प्रतिगमनका पक्षधर, संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध उभिनेहरुका विरुद्धमा भने मोर्चाले संघर्ष गर्ने चेतावनी दिए ।

समानता, सामाजिक न्याय र समतामा आधारित एउटा समाजवादी समाजको निर्माण गर्ने दिशातर्फ अगाडि बढनका लागि नै मोर्चा गठन गरिएको र त्यसमा सफलता हात पार्ने उनको दाबी थथियो ।


क्लिकमान्डु