निक्षेपको ब्याजदर १ प्रतिशतले घटाउन राष्ट्र बैंकले हस्तक्षेप गर्न आवश्यक: पूर्वगभर्नर थापा



काठमाडौं । राष्ट्र बैंकका पूर्वगभर्नर गणेशबहादुर थापाले निक्षेपको ब्याजदर १ प्रतिशतले घटाउन केन्द्रीय बैंकले हस्तक्षेप गर्न आवश्यक गरेको बताएका छन् ।

नेपाल व्यवस्थापन संघ (म्यान)ले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव संकलन गर्न आयोजना गरेको छलफल कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

पूर्वगभर्नर थापाले बैंकमा पैसा भए पनि माग नभएको, पसलहरु बन्द भएका, पसल भाडा घटाउन माग गर्ने अवस्था सृजना भएको बताए ।

यो अवस्थामा लगानीका लागि बुस्टरडोज आवश्यक भएको उनले धारणा राखे । देशको अर्थतन्त्रलाई बुस्ट गराउन सबैको भूमिका भएको उनको भनाइ थियो । उनले संसदलाई ५ करोड छुट्याउनुले सरकार अहिलेको देशको आर्थिक अवस्थाका बारेमा चिन्तित नभएको देखिएको बताए ।

बेरोजगार युवालाई तालिम नदिई, कर्जा दिएर मात्रै नहुने उनले बताए । युवालाई तत्काल तालिम दिनु पर्ने, भारतीय बजारको बारेमा जानकारी राख्नुपर्ने, बिक्रीका लागि बजार आवश्यक रहेको उनले बताए ।

बजारमा प्रतिस्पर्धा गर्न सक्ने उत्पादन आवश्यक रहेको, नेपाली उत्पादन सडकमा फाल्नु पर्ने अवस्था सृजना गर्न नहुने बताउँदै उनले पर्यटन क्षेत्रमा छोटो समयमा कस्तो सेवा बढाउन सकिन्छ भनेर हेर्न सुझाव दिए ।

भारतको आर्थिक विकास निरन्तर भइरहे पनि नेपाल पछि पर्दै गएको उनले बताए ।

बैंकमा यथेष्ट पैसा हुँदा पनि कर्जाको माग नहुनु मन्दिको संकेत भएको उनले बताए । निजी क्षेत्रले हालको अवस्थामा कर्जा लिन नचाहेको बताए ।

उनले १ प्रतिशत निक्षेपको ब्याज घटाउन समेत सुझाव दिए । यसमा राष्ट्र बैंकले हस्तक्षेप गर्न आवश्यक रहेको उनको धारण थियो । यसले सेयर बजारमा पनि मन्दि छाएको उनले बताए । ब्याजदरले सेयर बजारमा प्रभाव पारेको उनको तर्क छ ।


क्लिकमान्डु