बालेनले आह्वान गरेको व्यवसाय सम्बन्धी आइडिया बैंकमा ७७६ वटा आवेदन



काठमाडौं । काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको कार्यक्रम आइडिया बैंकअन्तर्गतको ‘काठमाडौं मेट्रो आईडिया एण्ड इनोभेसन (केएमआईआई), २०८०’मा ७७६ वटा आवेदन परेका छन् ।

महानगरो सहरी योजना आयोगकाअनुसार जेठ २९ गतेसम्म म्याद तोकेर माग गरिएको आवेदमा ७७६ वटा प्रस्ताव आवेदनहरु परेका हुन् । आयोगकी सहायक विज्ञ अग्मा मालाकारकाअनुसार आवेदनमा परेका ७७६ आवेदनहरुलाई लिएर अब जूरी (निर्णायक मण्डली)ले शीर्ष १ सय सोचहरुलाई छानिनेछ ।

महानगरले केही समयअघि अघि विभिन्न किसिमका सोचहरुलाई लिएर कुनै स्टार्टअप भएको र त्यसले ३ वर्ष नकाटेको अवस्था रहेमा महानगरको आइडिया बैंकका लागि आवेदन दिन मिल्ने गरि प्रस्ताव आह्वान गरेको थियो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो चुनावी घोषणा पत्रमा उल्लेख गरेअनुसारको आइडिया बैंकको कार्यान्वयन सुरु गर्दै प्रस्तावको माग गरिएको थियो । महानगरको आव २०७९/०८० को नीति तथा कार्यक्रममा नै यो कार्यक्रमलाई समावेश गरेर अघि लगिएको थियो ।

शाहले प्रस्ताव मागको विषयमा जानकारी दिँदै दक्ष वा अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशिलता विशेषज्ञहरुको पुलको रुपमा महागरबासी सोचलाई योजना र योजनालार्य व्यवसाय बनाउने काम आइडिया बैंकको भएको बताएका थिए ।

‘तपाईंसँग आइडिया छ, तपाईंले महानगभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र ३ वर्ष कटेको छैन, साथै तपाई विद्यार्थी हुनुहुन्छ, तपाईंसँग महानगरको समस्या समाधानका लागि व्यवसायमुखी आइडिया छन्, त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ?’ बालेनले प्रश्न गर्दै त्यसलाई मूर्त बनाउन महानगरले सहयोग गर्ने बताएका थिए ।

सोही कार्यक्रम कार्यान्वयनमा आएसँगै महानगरले आईडिया बैंकका लागि प्रस्ताव आह्वान गरेपश्चात जेठ २९ सम्ममा ७७६ प्रस्ताव आवेदन परेको हो । मालाकारकाअनुसार यीमध्येबाट शीर्ष सय निर्णायक मण्डलीले छान्ने र तीनिहरुबाट शीर्ष ५० छानिनेछ ।

‘सूरुमा आवेदन आएकाहरुमध्येबाट जुरीले टप १०० छान्नेछन्,’ क्लिकमाण्डूसँग कुरा गर्दै उनले भनिन, ‘त्यसपछि सेसन हुनेछ । मेन्टरिङ गरिनेछ । त्यसपछि प्रस्ताव आवदेन दिनेहरुले आफ्नो आइडिया पिच गर्नुहुन्छ । जसबाट शीर्ष ५० छानिनेछ ।’

यसरी छानिएका शीर्ष ५० प्रस्तावहरुलाई लिएर महानगरले त्यसलाई कसरी व्यसायको रुपमा योजना बनाउने, कार्यान्वयनमा लैजाने, लगानी जुटाउनेलगायतका विषयमा प्रस्तावकहरुलाई सहयोग गर्नेछ । मालाकरकाअनुसार यसरी छानिने शीर्ष ५० प्रस्तावहरुलाई लगानीकर्तासँग जोड्ने ‘पुल’ को काम गर्नेछ ।

‘हामीले गरेको यो कार्यक्रम कुनै प्रतियोगिता होइन, कसैलाई केही दिने भन्ने होइन,’ मालाकारले भनिन, ‘हामीले यो गर्न खोजेको भनेको आइडियटर (आइडिया भएका व्यक्ति) र अनुभवि प्रोफेसनलबीच कनेक्सन मात्र बनाइदिन खोजेको हो ।’

महानगरको यो कार्यक्रम स्टार्टअप वा उद्यमशीलतालाई प्रोमोट गर्ने गरि सुरु गरिएको कार्यक्रम हो । महानगरकाअनुसार समस्या समाधान गर्न खोज्ने र परिवर्तन ल्याउन खोज्नेहरुका लागि एउटा प्लेटफर्म सिर्जना गरेर विभिन्न समस्या समाधानका लागि आवश्यक सोच तथा उद्यमशीलताहरुलाई आवश्यक प्रशिक्षण तथा सहयोगहरुका जुटाउने गरि यको कार्यक्रमको सुरुवात गरिएको छ । स्टार्टअपहरुलाई कोचिङ र कनेक्सन विस्तार गर्न सहयोग गर्दै लगानीकर्ता र ग्राहक जोड्ने यो कार्यक्रमको लक्ष्य रहेको छ ।

महानगरले कार्यक्रमलाई लिएर विभिन्न ५ क्षेत्रमा प्रस्ताव आवेदनहरु मागेको थियो । त्यसमध्ये समाज र वातावरण, शहरी पूर्वाधार, नागपालिका सामूदायक सेवा, नागरपालिका प्रशासन र दक्षता र सामाजिक आर्थिक क्षेत्रमा प्रस्तावहरु पेश गर्न पाउने गरि कार्यक्रमलाई कार्यान्वयनमा ल्याएको थियो ।

मालाकरकाअनुसार आवेदन परेका ७७६ प्रस्तावहरु यीनै क्षेत्रअन्तर्गत रहेर परेका छन् । महानगरले कार्यक्रमलाई लिएर अबको तीन सातासम्म पिचिङ तथा वर्कसपलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने उनले बताइन् ।

‘अब शीर्ष सय छान्नका लागि एक हप्ता लाग्नेछ,’ उनले भनिन, ‘त्यसपछि एक हप्ताको प्रशिक्षण हुनेछ । त्यपछि एक हप्ताभित्र ३ दिनको पिचिङ र २ दिन अन्तिम छनोटको काम हुनेछ । अबको तीन हप्ताभित्र यो कार्यक्रमलाई लिएर काम हुनेछ ।’

छानिएका सोच, स्टार्टअपलगायतलाई लिएर अब महानगरले लगानीकर्ता तथा ग्राहकमाझमा विस्तार गर्ने, विभिन्न स्वरुपमा लैजाने तथा त्यसलाई व्यवसायिक रुप दिनेलगायतका पक्षहरुलाई लिएर सहायता गर्नेछ ।


क्लिकमान्डु