‘जुत्ता चप्पलको कच्चापदार्थको महसुल ३० बाट घटाएर १५% मात्रै, पार्ट्स र तयारी जुत्तामा हेरफेर’
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले तयारी जुत्तामा ४० प्रतिशत तर पार्ट्समा कम दर भएका कारण सबै जुत्ता पार्ट्सका रुपमा आयात हुने प्रवृत्ति देखिएकाले तयारी जुत्ता र पार्ट्सको महसुल दरको अन्तर कम गरिएको बताएका छन् ।
आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले वास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा त्यसलाई घटाएर १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए ।
कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्ने अर्थमन्त्रीको विश्वास छ ।