आलु प्याजमा कर आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो: अर्थमन्त्री



काठमाडौं । किसानको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् । यसले स्वदेशका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने उनको भनाइ छ ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको संघीय संसद्मा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सधैँ आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने ? आयात भेरै भयो भन्ने गुनासो सबैको छ । त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ । आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ । आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो ।’

उनले ५० लाखभन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने स्पष्ट पारे । आयात गरेर त्योभन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने हो ।

चालू आर्थिक वर्षको १० महिनामा मात्रै ८ अर्ब ८२ करोड रुपैयाँको आलु आयात भएको छ । त्यस्तै प्याज ६ अर्ब १७ करोड र स्याउ ७ अर्ब १५ करोडको आयात भएको छ । विदेशी अनुदान प्राप्त वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको कारण यस्ता वस्तुको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ ।


क्लिकमान्डु