राष्ट्रपतिबाट प्रमाणीकरण भएको नागरिकता विधेयकमाथिको प्रश्नले संसद बैठक नै प्रभावित



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको अघिल्लो दिन राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयकका विषयमा प्रश्न उठेपछि केहीबेर संसद बैठक नै प्रभावित भएको छ ।

प्रधानमन्त्री दाहालले जवाफ दिने क्रममा प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका सांसदबीच जुहारी नै चलेको हो । प्रधानमन्त्रीले रोस्ट्रममा उभिएर जवाफ दिइरहेका फ्लोरमा रहेका सांसदहरु नै तर्क-वितर्कमा उत्रिएपछि बैठक प्रभावित भयो ।

प्रधानमन्त्रीले संसद बैठकमा जवाफ दिने क्रममा तत्कालीन राष्ट्रपतिले संविधानको संरक्षक र पालकको हैसियतमा पूरा गर्नुपर्ने दायित्व पूरा नगरेर विधेयक होल्डमा राखेको बताएपछि एमाले सांसदहरुले आपत्ति जनाउँदै हल्ला मच्चाएका हुन् ।

प्रधानमन्त्री दाहालले प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट दुई-दुई पटक पारित भएको विधेयक राष्ट्रपति कार्यालयको दराजमा छ थन्किनुले लोकतन्त्र र संविधानमाथि नै प्रश्न उठ्ने भएकाले प्रमाणीकरणका लागि अनुरोध गरिएको जनकारी गराए । अघिल्लो सदनले दुई-दुई पटक गरेको निर्णयलाई अपमान हो भन्न मिल्छ ? भन्दै उनले एमाले सांसदहरुलाई प्रश्न गरे ।

प्रधानमन्त्रीका कुरा सुनिनसक्दै एमाले सांसद सूर्य थापाले विरोध सुरु गरे । उनले संविधानको ११९ को ९ मा संविधानसभा नयाँ बनेपछि पुराना विषय निष्क्रिय हुने व्यवस्था रहेको भन्दै खेद प्रकट गरे ।

त्यसपछि प्रधानमन्त्री फेरि आफ्ना कुरा राख्न थाले । आफ्नो नेतृत्वमा सरकार बनेपछि शून्यमा परिणत भएका विधेयक पुन: संसदमा ल्याइएको उनले बताए ।

त्यसले पनि एमाले सांसदहरुको चित्त बुझेन । उनीहरुले फेरि विरोध गरे । त्यसैबेला प्रधानमन्त्रीले बोल्न पाउनुपर्ने भन्दै कांग्रेसका सांसदहरुले पनि एमाले सांसदहरुभन्दा चर्को स्वर गरेपछि केहीबेर बैठक नै प्रभावित भयो ।

केही समयको हल्लाखल्लापछि एमाले सांसद रघुजी पन्तले अदालतमा विचाराधीन रहेकाले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विषयमा कसैले पनि बोल्न नपाउने बताए । ‘अदालतमा गएको विषय प्रधानमन्त्रीले व्याख्या गर्ने होइन, चुप लागेर बस्ने हो,’ उनले भने ।

त्यसलगत्तै कांग्रेस सांसद विश्वप्रकाश शर्माले नागरिकता विधेयक प्रमाणीकरणमा केही विमति र प्रक्रियागत त्रुटि भए छलफल गरेर जान सकिने तर्क गरे । त्यसपछि सभामुख देवराज घिमिरेले वातावरण सहज बनाएपछि प्रधानमन्त्री दाहाले पुन सांसदका प्रश्नमाथि जवाफ दिन पाएका छन् ।


क्लिकमान्डु