रायमाझी र खाण जिल्ला अदालतमा, थुनामा राखेर वा नराखि मुद्दा अघि बढ्ने बारे निर्णय हुने



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा अभियुक्तहरुलाई थुनछेक बहसका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

आइतबार बिहान काठमाडौं जिल्ला अदालतमा आरोपीहरुलाई उपस्थित गराइएको हो । काठमाडौं जिल्ला अदालतमा नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका नेकपा एमालेका नेता टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता बालकृष्ण खाणसहित १८ जनालाई थुनछेक बहसका लागि जिल्ला अदालतमा उपस्थित गराइएको छ ।

हालसम्म पक्राउ परेका सबै १८ जनाको बयान सम्पन्न भएपछि आजदेखि थुनछेक बहस सुरु हुन लागेको हो । सो थुनछेक बहसपछि आरोपीहरुलाई पुर्पक्षमा पठाउने–नपठाउने भन्ने बारेमा क्रमशः निर्णय लिइनेछ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, निलम्वित सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापकाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल र सानु भण्डारीलगायत १८ जनासँग काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेलगायतले बयान लिएका थिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले पक्राउ परेका १८ सहितलाई फरार रहेका ३० जनालाई संगठित अपराध, किर्ते, ठगी तथा राज्य बिरुद्धको आरोप गरी चारवटा मुद्दा लगाउँदै २७ करोड ५० लाख बिगो माग दाबीसहित काठमाडौं जिल्ला अदालतमा जेठ १० गते मुद्दा दायर गरेको थियो ।


क्लिकमान्डु