लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालन हुने, वसन्तपुरको कामाख्या मन्दिरमा एकहप्ते पुजा सुरु
बुटवल । बुटवलको लुम्बिनी केबलकार जेठ १५ देखि सञ्चालनमा आउने भएको छ । आईएमई ग्रुपको लगानीमा बनेको लुम्बिनी केबलकार व्यावसायिक रुपमा सञ्चालन हुनुअघि मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पूजाआराधना सुरु गरिएको छ ।
भारतको गुहावटीमा रहेको मन्दिरकै शैली र कलामा वसन्तपुरमा कामाख्या मन्दिर बनाइएको छ । कामाख्या मन्दिर दर्शनले मनोकामना पूरा हुने र सांसारिक बन्धनबाट मुक्ति पाइने धार्मिक विश्वास रहेको धर्मगुरु किशोर गौतमले बताए ।
सप्ताहव्यापी पूजाआराधनामा बुटवलसहित रुपन्देही, पाल्पा र अन्य नजिकका जिल्लाबाट भक्तजनहरु आउने गौतमले जानकारी दिए । सप्ताहव्यापी पूजाआराधनामा गुहावटी र नेपालका ११ जना पण्डितले प्रवचन दिँदै छन् ।
कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वरपीपल, ढुंगे धारा, पोखरी आदि संरचना निर्माणले वसन्तपुर एउटा धार्मिक गन्तव्य बनेको लुम्बिनी केबलकारका इन्जिनियर सन्नी चौरसियाले बताए ।
सप्ताहव्यापी पूजाआराधनाकै बीचमा जेठ १५ देखि केबलकार व्यावसायिक रुपमा सञ्चालन हुनेछ ।
केबलकार सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ । लुम्बिनी केबलकार प्रालिले प्रतिटिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टयाउनेछ ।
बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो । आईएमई ग्रुपले सञ्चालनमा ल्याउन लागेको यो तेस्रो केबलकार हो । यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैंडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ ।
प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले वसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताए । भारतको गोरखपुर, लखनउलगायत विभिन्न सहरका भारतीयलाई आकर्षित गर्न सकिने सम्भावना देखेर केबलकारमा लगानी गरिएको उनले बताए ।
केबलकार र रिसोर्टसहित आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ । टप स्टेसनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन् भने बाल उद्यान, स्काई जिप लाइन निर्माणको क्रममा छन् ।
मोनोकेवल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ । बटम स्टेसन समुद्री सतहबाट २३० मिटर र टप स्टेसन ९४० मिटरको उचाइमा छ । बटन स्टेसनबाट १० मिनेटको यात्रामै टप स्टेसनमा पुग्न सकिन्छ ।
खासगरी गर्मी मौसममा वसन्तपुर पुगेर शीतलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए । केबलकार सञ्चालनमा आएसँगै टप स्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटललगायतका संरचना निर्माण गरिने केबलकारका आयोजना प्रमुख गोकुल साउदले जानकारी दिए ।