चोभारमै वञ्जी, जीपलाइन, स्वीङ, स्काई वाक, स्काई साइक्लिङ र रक क्लाइम्बिङ खेल्न पाइने



काठमाडौं । अहिले वञ्जी, जीपलाइन, स्वीङ, स्काई वाक, स्काई साइकलिङ र रक क्लाइम्बिङ खेल खेल्नका लागि उपत्यका बाहिर जानुपर्ने बाध्यता छ । युवाहरुले उक्त प्रकारका साहसिक खेलका लागि समय निकालेरै जानुपर्ने अवस्था छ।

तर, आगामी दिनमा भने उक्त बाध्यताबाट मुक्त हुनेछ । उपत्यकाबासी लगायत नजिकका जिल्लाका मानिसहरुले अब उपत्यकामै सहज तरिकाले साहसिक खेल खेल्न पाउनेछन् ।

काठमाडौं जिल्ला किर्तिपुर नगरपालिका वडा नम्बर ६ अर्थात् चोभारमा वञ्जी, जीपलाइन, स्वीङ, स्काई वाक, स्काई साइकलिङ र रक क्लाइम्बिङ जस्ता खेलको मनोरञ्जन दिने गरी उद्योग दर्ता गरेको छ । उद्योग विभागमा गत वैशाख १९ गते जेभी भेन्चर प्रालिले विभिन्न साहसिक खेलको मनोरञ्जन प्रदान गर्न कम्पनी दर्ता गरेको पाइएको छ ।

कम्पनीमा पञ्चलाल महर्जनको पूर्णस्वामित्व छ । लगानीकर्ता महर्जनले ३ अर्ब लगानीमा विभिन्न प्रकारका साहसिक खेल सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाएको छ ।

विभागको दर्ता भएको विवरणअनुसार चोभारमा ४६ बेडाके होटल र ६० सिटको रेष्टुरेन्ट निर्माण गर्ने भएको छ । त्यसैगरी, वार्षिक ५० हजार जनाले वञ्जी र ७० हजार जनाले जीपलाइन खेल्न सक्ने उल्लेख गरेको छ ।

साथै, वार्षिक ७० हजार जनाले स्वीङ, ७० हजार जनाले स्काई वाक/ग्लास ब्रिज, ७० हजार जनाले स्काईसाइकलिङ र ४० हजार जनाले रक क्लाइम्बिङ गर्न सक्नेछन् ।

कम्पनीले विभिन्न प्रकारको साहसिक खेलसहित चिल्ड्रेन पार्क पनि निर्माण गर्नेछ । पार्कमा वार्षिक १ लाख जना बालबालिकाले सेवा लिन सक्ने लक्ष्य लिएको छ । कम्पनीअनुसार उक्त परियोजनामा प्रत्यक्ष १५० जनाले रोजगारी पाउनेछन् ।


क्लिकमान्डु