रौतहटको चन्द्रपुर शाखाका ग्राहकको पैसा हराउनुमा हाम्रो गल्ती छैन: माछापुच्छ्रे बैंक



काठमाडौं । माछापुच्छ्रे बैंकले रौतहटको चन्द्रपुर शाखाका ग्राहकको पैसा हराउनुमा संस्थाको कुनै गल्ती नभएको जनाएको छ ।

बैंकले प्रेस विज्ञप्ति जारी गरी ग्राहकको खाताबाट रकम हराएको सम्बन्धमा विभिन्न सञ्चारमाध्यममा आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ ।

ग्राहकले पैसा हराएको गुनासो गरेपछि बैंकले अनुसन्धान गर्दा सम्पूर्ण रकम मोबाइल बैंकिङ प्रयोग गरी अन्य बैंकका विभिन्न खाता तथा खल्ती वालेटमा ट्रान्सफर गरिएको देखिएको बैंकले उल्लेख गरेको छ ।

‘बैंकको सिस्टममा कुनै समस्या नदेखिएको र बैंकबाट पठाइएका सम्पूर्ण एसएमएस, एक्टिभेसन कोड तथा ओटीपी ग्राहककै मोबाइलमा गएको देखिएको हुनाले उक्त कोड अनधिकृत व्यक्तिलाई जानकारी नगराई वा ग्राहकको मोबाइलमा अनधिकृत पहुँच नपुर्‍याई उक्त कारोबार हुन नसक्ने देखिन्छ,’ बैंकद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान गरी आवश्यक कारबाही गर्न प्रहरीमा अनुरोधसमेत गरिसकेको बैंकले जनाएको छ । ग्राहकहरुको बैंक खातामा रहेको बचत पूर्णरुपमा सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ ।

बैंकले मोबाइल बैंकिङ तथा अन्य डिजिटल सेवाहरुको प्रयोग गर्दा सावधानी अपनाउन सम्पूर्ण ग्राहकसहित सबैलाई अनुरोध पनि गरेको छ ।

बैंकको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको थियो । आइतबार ८ लाखको चेक साट्न गएका रौतहटको बृन्दावन नगरपालिका-३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो ।

शुक्रबारसम्म उनको खातामा १२ लाख २० हजार रकम थियो । बृन्दावन नगरपालिकाका पूर्ववडाध्यक्ष यादवको खाताबाट रकम हराएपछि आइतबार दिनभर स्थानीय बैंकमा भेला भएका थिए । गत बिहीबार उनले १२ लाख २० हजार रकम माछापुच्छ्रे बैंकमा जम्मा गर्न चेक (क्लिरियन्समा) दिएका थिए ।

शुक्रबार दिउँसो ३ बजे उनको खातामा पैसा जम्मा भएको म्यासेज मोबाइलमा आएको थियो । आइतबार ८ लाखको चेक लिएर साट्न जाँदा यादवले खाताबाट ९ लाख हराएको जानकारी पाएका थिए ।


क्लिकमान्डु