मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमा यसरी हुन सकिन्छ सुरक्षित: बैंकर मनोज ज्ञवालीको टिप्स
मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङले बैंकिङलाई २४ घण्टा ग्राहकको हातमै बैँकिङ सेवा दिन सम्भव बनाएको छ । तर, केही समययता मोबाइल बैँकिङ वा इन्टरनेट बैँकिङमार्फत ठगी र चोरीका घटना बढेका छन ।
कुनै अपरिचित नम्बरबाट फोन आउँछ र फोन गर्ने व्यक्तिले म बैँकको कर्मचारी (नामसहित) भनेर परिचय दिन्छ र विस्तारै ग्राहकको खातासम्बन्धी विवरण माग्न थाल्छ । ग्राहकले पनि बैंकबाट आएको फोन भनेर विस्तारै आफ्नो खाता तथा अन्य विवरण फोन गर्ने मान्छेलाई भन्दै जान्छ ।
ट्रान्जेक्सन पासवर्ड र ओटीपीसमेत बैँकले तपाईंको खाता वा अरु कुरामा अपरेटिङ गर्दै छ भनेर सेयर गर्न लगाउँछ । तत्काल खाताबाट पैसा झिकिन्छ । अनि आत्तिएर बैँकमा खबर गर्नुअघि नै ठगले पैसा अन्यत्र खाता तथा मोबाइल वालेटमा पठाइसकेको हुन्छ भने कतिपय अवस्थामा तत्काल नगद रकम निकालिसक्छ ।
यो क्रम दिनहुँ बढ्दै गइरहेको छ । यसर्थ, बैँकिङ कारोबार गर्ने ग्राहकले निम्न कुरा बुझ्न जरुरी छ:
१. बैँकको कर्मचारीले यहाँहरुको खातासम्बन्धी र अन्य विवरण फोन गरेर कहिल्यै माग्दैनन् । यहाँको सबै विवरण बैँकमै हुन्छ ।
२. कुनै पनि मान्छेलाई (आफन्त समेतलाई) आफ्नो मोबाइल बैँकिङ वा इन्टरनेट बैँकिङको पासवर्ड र पनि कहिल्यै सेयर नगर्नुस् । कुनै कारणवश गरिहाल्नु परेमा तत्काल परिवर्तन गर्नुहोस् ।
३. सेयरिङ बेसिसमा ल्यापटप या डेस्कटप चलाउनुहुन्छ र सोही डिभाइसबाट इन्टरनेट बैँकिङ वा कनेक्ट आइपीएस चलाइराख्नुहुन्छ भने युजर नेम र पासवर्ड कहिल्यै डिभाइसमा सेभ नगर्नुस् ।
४. कुनै व्यक्तिले तपाईंको खातासम्बन्धी विवरण शंकास्पद हिसाबले मागेमा होसियार हुनुहोस् । कुनै विवरण सेयर नगर्नुस् । उक्त फोन नम्बर र अन्य विवरण सम्बन्धित बैँकमा जानकारी गराउनुहोस् ।
५. तपाईंलाई लट्री वा चिट्ठा पर्यो, हामी पैसा पठाइदिन्छौँ । तपाईंको खाताको विवरण चाहियो भनेर आउने म्यासेज र इमेललाई लोभमा परेर जवाफ नदिनुस् । तपाईंले कहिल्यै खरिद नगरेको लट्री कसरी पर्छ ?
६. बैँकका कर्मचारीले ग्राहकको खाता सञ्चालन गरी रकमान्तर हुन सक्ने प्रकारका कुनै विवरण माग गर्न मिल्दैन र माग्दैनन् । यसर्थ, फोनको भरमा कुनै जानकारी सेयर नगर्नुस् ।
७. आफूले कुनै भुक्तानी नगरेको अवस्थामा खाताको रकम डेबिट भएको जानकारी एसएमएसमार्फत प्राप्त हुनासाथ तत्काल बैँकमा सम्पर्क गर्नुहोस् ।
खातासम्बन्धी विवरण, पासवर्ड र ट्रान्जेक्सन पिन सेयर गर्नु भनेको पैसा राखेको पैसाको थैलीलाई मेला लागेको चौरमा छाडेर हिँड्नुजस्तै हो । चोरी हुन्छ । यसर्थ, थैलीलाई कसेर दराजमा राखौँ र लक गरौँ ।
चोरी र ठगीबाट बचौँ !