वसन्त ऋतुमा ५ सयले चढे सगरमाथा



काठमाडौं । यस वर्षको वसन्त ऋतुमा करिब ५ सयले सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेका छन् । पर्यटन विभागका अनुसार यो यामको जारी आरोहणमा आजसम्म आरोही तथा शेर्पा सहयोगी गरी ५ सयले सगरमाथा आरोहण गरेका हुन् ।

विभागका महानिर्देशक होमप्रसाद लुइँटेलका अनुसार वसन्त ऋतुको सगरमाथा आरोहणमा ४७८ जनाले आरोहण अनुमति ‘एक्सपिडिसन पर्मिट’ लिएकोमा आजसम्म करिब ५ सयको हाराहारीले सगरमाथाको सफल आरोहण गरेका छन् ।

मौसमले साथ दिएकाले अहिले सगरमाथालगायत हिमालमा उत्साहवर्धक रूपमा आरोहण भइरहेको विभागले जनाएको छ ।

यस वर्षको वसन्त ऋतुको आरोहण वैशाख ३० बाट सुरु भएको थियो । सगरमाथा आरोहणका लागि दक्ष कामदार (आइसफल डाक्टर)ले सगरमाथाको चुचुरोसम्म रोप फिक्सिङ (डोरी टाँग्ने) गरेपछि आरोहणको ढोका खुलेको हो ।

वसन्त ऋतुमा सगरमाथा आरोहण गर्न इतिहासकै सर्वाधिक बढी आरोहीले अनुमति लिएका छन् । विभागको पर्वतारोहण शाखाको विवरणमा ४७ आरोही समूहका १०३ महिला र ३७६ पुरुष गरी ४७८ आरोहीले आरोहण अनुमति लिएका हुन् ।


क्लिकमान्डु